बाँके –
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ४ मा सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रको संचालनमा आएको छ । सोमबार उक्त स्वास्थ्य प्रबद्र्धनको प्रतिनिधिसभाका सांसद एवम् नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर र नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद राठौरले नेपालगन्जले नगरबासीको स्वास्थ्य प्रवद्र्धधनका लागि सराहनीय कार्य गरेको बताए । उनले नेपालगन्ज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मेडिकल हब भए पनि नागरिकले सोचेअनुरुप सेवा पाउन नसकेको बताउँदै स्वास्थ्य सेवाको स्तरवृद्धिका लागि तीनै तहका सरकार गम्भीर ढंगले लाग्नुपर्ने आवश्यकता औंल्याए।
नगर प्रमुख प्रशान्त विष्टले अब गरिने उपचार बिरामी भएपछि नभई नागरिकलाई रोग लाग्नै नदिनेगरी हुनुपर्ने भन्दै सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रले त्यस कार्यमा अहम् भूमिका खेल्ने बताए
नगर उपप्रमुख कमरुद्दिन राईले सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रबाट भेरी अस्पताल भन्दा २० प्रतिशत सस्तो र सुलभ शुल्कमा सेवा प्रदान गरिने बताए ।
वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुनले २३ वटै वडालाई कार्य क्षेत्र बनाएर सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रले काम गर्ने बताए । पुनले बिहान ७ बजेदेखि ९ तथा बिहान १० देखि दिउँसो १ बजेसम्म सुलभ शुल्कमा विभिन्न प्रयोगशाला जाँचहरु गरिने जानकारी दिए ।
स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले प्रवद्र्धनात्मक स्वास्थ्य सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन गरिएको बताए ।