बाँके –
करिब १ वर्षपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सोमबारदेखि काठमाडौंमा संचालित छ । मंगलबार उक्त बैठकमा थप २२ वटा केन्द्रीय विभाग थप्ने प्रस्तावदेखि ७ लाख सदस्य थप्ने लक्ष्यका साथ काम गर्ने कार्ययोजना अघि बढाइएको छ ।
कांग्रेस महामन्त्री गगन थापाले सानेपामा सुरु केन्द्रीय कार्यसमितिको बैठकमा २२ विभाग थप गर्ने प्रस्ताव पेस गरेका छन् । कांग्रेसको विधानअनुसार यसअघि ४८ विभाग राखिएकोमा त्यसमा २२ थप गरी ७० विभाग पु¥याउन थापाले प्रस्ताव पेस गरेका हुन् ।
प्रस्तावित थप विभागहरूमा न्याय तथा मानवअधिकार विभाग, नवीनतम प्रविधि र नवप्रवर्तन समन्वय विभाग, सामाजिक–सांस्कृतिक अभियान विभाग, विकास तथा पूर्वाधार विभाग, सुशासन विभाग, सहकारी विभाग, उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभाग विकास विभाग रहेका छन् ।
यस्तै, विपद् व्यवस्थापन विभाग, ऊर्जा तथा जलस्रोत विभाग, युवा तथा किशोर–किशोरी विभाग, भूपू प्रहरी विभाग, ज्येष्ठ नागरिक समन्वय विभाग, जलवायु परिवर्तन र वातावरणीय सन्तुलन सरोकार विभाग र पूर्वआप्रवासी समन्वय विभाग थप गर्न लागिएको छ ।
त्यसैगरी कांग्रेसले आगामी एक वर्ष क्रियाशील सदस्यता विस्तार अभियान चलाउने भएको छ । उक्त अभियानबाट ५ देखि ७ लाख नयाँ सदस्य बनाउने कांग्रेसले कार्ययोजना अघि सारेको हो । बैठकमा महामन्त्री गगन थापाले साउन २० देखि २०८१ असार ३१ गतेसम्म ‘घरघर जाऊँ, पार्टी सदस्य बनाऊँ’ अभियान चलाउने योजना प्रस्तुत गरेका हुन् ।
उनका अनुसार क्रियाशील सदस्यताको वितरण वर्षभरि नै गर्नेगरी यसका लागि जिल्ला कार्यसमितिलाई फारम पठाइसकिएको छ । उनले भने, ‘अब इच्छुक साथीहरूले प्रक्रिया पुरा गरेर पार्टीको क्रियाशील सदस्यता लिन सक्नुहुने छ। कांग्रेसको क्रियाशील सदस्यता वितरण अनलाइनमार्फत् गर्ने कुरालाई हामीले सुरु ग¥यौँ । यसलाई प्रभावकारी बनाउने, संगठन विस्तार र सुदृढीकरणका लागि नयाँ व्यक्तिलाई पार्टीमा आकर्षण र गर्न र समाजको विविधता झल्कने गरी यो वर्षको साउन २० देखि २०८१ असार ३१ गतेसम्म घरघर जाऊँ पार्टी सदस्य बनाऊँ भन्ने अभियान चलाउन अन्तर्गत राष्ट्रिय अभियान सुरु हुने छ ।’
२१ सय अनुशासन उल्लंघनका उजुरी परे
बैठकमा अनुशासन समितिमा २ हजार १ सय उजुरी परेका विषय प्रस्तुत गरिएको छ । गत निर्वाचनमा घात, अन्तर्घात, बागी उम्मेदवारलगायतका घटनामा सो संख्यामा उजुरी परेका हुन् ।
जारी केन्द्रीय समिति बैठकमा अनुशासन समितिका संयोजक तथा कांग्रेस नेता आनन्द ढुंगानाले ४६ जिल्लाबाट २ हजार १ सय उजुरी परेको बताए । तर ती सवै उजुरीमाथि छानबिन पूरा गर्न बाँकी नै रहेको ढुंगानाले जानकारी दिए ।
साथै उनले ८७ जनालाई कारबाही गरिएको समेत जानकारी दिएका छन् ।
१० एजेण्डा छलफल
यसअघि बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले १० वटा विषयमा छलफल गर्नेगरी एजेण्डा पेस थिए । जसमा समसामयिक राजनीतिक प्रतिवेदन, सांगठानिक कार्ययोजना र कार्यतालिका, कार्यसम्पादन समितिले गरेका निर्णय प्रस्ताव, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेश, नीति अधिवेशनको प्रक्रिया र विभाग गठनसम्बन्धी हेरफेर छन् ।
त्यसैगरी जनसमुदायबीच पुग्न राष्ट्रव्यापी अभियानबारेको प्रस्ताव, अनुशासन समिति प्रतिवेदन, कांग्रेसको संसदमा प्रस्तुती र सरकारले गरेको गतिविधि बैठकका एजेण्डा छन् ।
महामन्त्री शर्माले बैठकका एजेण्डा पेश गरेपछि अर्का महामन्त्री गगन थापाले सांगठानिक प्रतिवेदनमा भएका विषयबारे राखेका थिए । जसमा एक वर्षमा भए गरेका कामकारवाही र आगामी दिनमा गर्नुपर्ने कामहरु रहेको छन् ।
कांग्रेसले आगामी एक वर्ष गर्ने कार्यतालिका लगायत समेटिएको महामन्त्री थापाले बताएका छन् । कांग्रेसको विधान अनुसार प्रत्येक २ महिनामा बस्नुपर्ने केन्द्रीय समितिको बैठक एक वर्षपछि बस्न लागेको हो ।