बाँके –
नेपालगन्जमा रहेको भेरी अस्पतालले शुक्रबार १३३औं बार्षिकोत्सब मनाएको छ । अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्रबहादुर शाहको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालको प्रमुख आतिथ्यतामा भेरीको बार्षिकोत्सब मनाइएको हो । सो अवसरमा बोल्ने अधिकांश वक्ताले भेरी अस्पताललाई गुणस्तरीय र सेवालाई प्रभावकारी बनाउन सुझाव दिए । साथै कोरोनाकालमा भेरीले दिएको सेवाको सबैले मुक्तकण्ठले प्रशंसा गरेका थिए ।
बार्षिकोत्सबको उद्घाटन गर्दै मन्त्री खनालले भेरी अस्पताल संघमार्फत सञ्चालनमा रहे पनि प्रदेशले समन्वयसंगै आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
अस्तपतालका प्रमुख मेडिकल सुपरीटेण्डेण्ट डा. बद्री चापागाईंले एक वर्षमा १ लाख ८० हजार ४ सय ३२ जनाले भेरीबाट सेवा लिएको जानकारी दिए । उनले भेरीले गुणस्तर वृद्धिसँगै सेवा विस्तार गरिरहेको बताए ।
भेरीले बार्षिकोत्सवको अवसरमा २५ वर्ष सेवा गरेका कर्मचारीलाई सम्मान गरेको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशका सदस्य कृष्णा केसी नमुना, सञ्जुकुमारी चौधरी, मिना सिद्दिकी, नेपालगन्ज उप–महानगरपालिका नगर उपप्रमुख कमरुद्दिन राई, कोहलपुरका नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्य, बाँकेका सिडियो विपिन आचार्य, राजनीतिक दलका नेता तथा अस्पताल विकास समितिका पूर्व पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।
वीर अस्पतालसंगै स्थापना गरिएको भेरी अस्पताल पश्चिम नेपालको रेफरल सेन्टरको रुपमा रहेको छ । भेरी अस्पताल वि.स. १९४७ साउन १२ गते पृथ्वी वीर अस्पताल डिस्पेन्सरीको नाममा स्थापना भई वि.सं. २०१६ मा रत्नराज्य लक्ष्मी देवी प्रसुति गृह नामाकरण गरिएको थियो ।
वि.सं. २०२१ सम्म उक्त नामबाट चलेको र त्यस पश्चात वि.सं.२०२२ सालमा भेरी अञ्चल अस्पताल नामाकरण गरिएको थियो । यस अस्पतालका लागि सुरुमा ५० बेड स्वीकृत भएको थियो भने २०४३ सालमा १०० बेड र हाल विकास समितिबाट ५० बेड स्वीकृत भई जम्मा १ सय ५० बेडको क्षमतामा सञ्चालन भइरहेको छ ।
२०६१ भाद्र २९ गतेको पत्रानुसार १०० शै्याबाट वृद्धि गरी २ सय शै्या क्षमतामा सञ्चालन गर्न अनुमति प्राप्त भए पनि आर्थिक अभावका कारण सञ्चालन गर्न नसकिएकाले हालसम्म १ सय ५० शै्या क्षमतामै अस्पताल सञ्चालन भइरहेको छ ।
देश संघीय संरचनामा गएपछि केही समय भेरी प्रादेशिक अस्पताल नामाकरण भई प्रदेश नम्बर ५ अन्तर्गत राखिएको यस अस्पताललाई नेपाल सरकारको पछिल्लो निर्णय अनुसार संघअन्तर्गत राख्ने र नामाकरण भेरी अस्पताल कायम गरिएको छ ।
भेरी अस्पतालले गुणस्तरसँगै सेवा थपिरहेको छ । कोरोनाकालमा भेरीले ठूलो सेवा दिएको थियो । अहिले सिकलसेलका विरामीलाई विशेष सेवा दिइरहेको छ ।