बाँके –
सुनचाँदी कारोबार सम्बन्धी कार्यविधि बन्ने भएको छ । यस सम्बन्धमा सुनचाँदी ब्यवसाय क्षेत्रमा आवद्ध तीन महासंघ बीच मंगलबार छलफल भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघ सम्मिलित संयुक्त कार्यदलले तीनै वटा महासंघको संयुक्त पहलमा कार्यविधि वनाउने विषयमा पहल गरेको हो । कार्यदलले विगत लामो समयदेखि यो पहल गर्दै आएको छ ।
सुनचाँदी व्यवसायलाई व्यवस्थित र प्रभावकारीरुपमा सञ्चालन गर्न सहयोग पुर्याउने उदेश्यले यो पहल सुरु गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए ।
काठमाडौंमा मंगलबार सम्पन्न तीन महासंघको संयुक्त कार्यदलको बैठकले सरकारी निकायसँग आवश्यक परामर्श गर्दै व्यवसाय मैत्री कार्यविधि निर्माणमा जुट्ने प्रतिबद्धता जनाएको हो ।
त्यसक्रममा सुनको आयात, वितरण प्रणाली, ऐन, कानुनलगायत विषयमा पनि छलफल भएको महासंघले जनाएको छ । छलफलमा नेपाल रत्न तथा आभूषण महासंघका अध्यक्ष सुरेश श्रेष्ठ, नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्डमान शाक्य, कार्यदल संययोजक विपिन रामुदामु लगायत सहभागी थिए ।