वीरगन्ज –
नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले अनुशासनको कमी नेपाली कांग्रेसको कमजोरी भएको औंल्याएका छन् । ‘कुनै कुराको चित्त नबुझ्न सक्छ, त्यो भन्न पाइन्छ । तर, त्यो भन्ने ठाउँ, राख्ने ठाउँ र जाने ठाउँ हुन्छ । सामाजिक सञ्जालमा प्रचार गर्ने होइन,’ डा.महतले भने ।
शुक्रबार नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ (ख) प्रदेशसभा क्षेत्रीय कार्यसमितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. महतले कांग्रेस पार्टीभित्र एकअर्कालाई गाली गर्र्ने, आफ्नै उम्मेदवारलाई भोट नदिने प्रवृत्ति रहेको बताएका हुन् ।
यसैगरी उनले केन्द्रीय समितिको बैठकका बारेमा बताउँदै बैठकमा यथार्थ कुरा बाहिर आएका बताए । ‘आन्तरिक रुपमा बहस हुनु ठीक छ । निष्कर्ष ननिस्केसम्म बहस हुनुपर्छ । तर निष्कर्ष निस्केपछि त्यो सबैले ग्रहण गर्नुपर्छ,’ डा. महतले भने ।
साथै उनले नीति, सिद्धान्त र इतिहास बोकेको पार्टी नेपाली कांग्रेसमात्र भएको बताउँदै भने, ‘काम गर्ने पार्टी भनेकै नेपाली कांग्रेस हो, तर हाम्रा नेता खराब भनेर हिडिराख्ने हाम्रै साथीहरुलाई रोग लागेको छ । यसबाट हामी मुक्त हुनुपर्छ ।’
महतले वर्तमान सरकारमा रहेका कांग्रेसका मन्त्रीहरुले धेरै राम्रो काम गरिरहेको बताए । ‘मैले पनि राम्रै काम गरेको छु भन्ने लाग्छ । नेपाली कांग्रेस जिम्मेवार पार्टी हो । जे अप्ठ्यारा र समस्या मैले देखें, त्यसको सम्बोधन गर्ने प्रयास गरिरहेको छु,’ उनले भने ।