बाँके –
नेपाली कांग्रेस बाँकेले ‘सांगठनिक सुदृढीकरणका लागि आन्तरिक विशेष अभियान’ सुरुवात गरेको छ । साउन २० गतेदेखि ३० गतेसम्म सञ्चालन हुने अभियानको शनिबार सुभारम्भ गरिएको हो ।
पार्टी कार्यालय नेपालगञ्जमा जिल्ला कार्यसमिति बाँकेका पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापति, प्रदेश सभापति, पलिका सभापतिलगायतको उपस्थितिमा अभियानको सुभारम्भ गरिएको प्रबक्ता डिल्ली गिरीले बताए ।
नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको अध्यक्षता एवम् केन्द्रीय सदस्य गेहेन्द्र गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले अभियानलाई सार्थक र परिणाममुखी बनाउन सबै तह र तप्का सक्रियतापूर्वक लाग्ने निर्णय गरेको छ ।
बाँकेका लागि केन्द्रीय प्रतिनिधि खटिएका केन्द्रीय सदस्य गिरीले पार्टीको संगठनलाई अझ सुदृढ र गतिशील बनाउन सबैलाई क्रियाशील भएर लाग्न आह्वान गरे ।
पार्टी सभापति गौडेलले ८१ वटै वडामा अभियान पुग्नेगरी सशक्त ढंगले लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । १० दिने अभियानपछि कांग्रेसको सांगठनिक जीवनमा परिवर्तन महसूस हुनुपर्नेमा गौडेलको जोड छ ।
साउन २ गतेदेखि १० गतेसम्म बसेको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार शनिबारदेखि ७७ वटै जिल्लामा अभियान सुरु भएको हो । जिल्लामा खटिएका नेताहरुले जिल्लाको अवस्था के छ ? पार्टी संगठन कसरी चलेको छ ? स्थानीय सरकारहरु कसरी चलेका छन् ? विधान बमोजिम गर्नुपर्ने कामहरु भए नभएको के कस्तो अवस्था छ ?, यी विषयमा प्रतिवेदन तयार गरेर केन्द्रमा बुझाउनेछन् ।
अभियानका क्रममा नेताहरुले पार्टीको क्षेत्रीय कार्यसमितिको बैठक राख्ने, भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरुको अवस्थाबारे जानकारी लिने र छलफलसमेत गर्नेछन् ।