बाँके –
आइतबार नेपालगन्ज शोकमग्न भएको छ । एकैपरिवारका चार जनासहित ६ जनाको ज्यान जाने गरी भारतमा भएको कार दुर्घटनाले नेपालगञ्जवासीलाई शोकमग्न भएका हो ।
शनिबारको बिदा मनाउन मामाघर भारतको बलरामपुर पुगेका नेपालगञ्जका दाजुबहिनी निलान्स र सुनिती घर फर्किंन पाएनन् । शनिबार बिहान आमासँगै मामाघर गएका निलान्स र सुनितीको साँझ घर फर्किनेक्रममा भारतको श्राबस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी अल्पायुमै निधन भयो । आमा सीता गुप्ता माइतीमै रहेकाले सुरक्षित छिन् ।
उक्त कार दुर्घटनामा निलान्स र सुनितीसँगै बलरामपुर ससुरालीबाट श्रीमती र छोराछोरी लिएर नेपालगञ्ज घर फर्किंदै गरेका वैभव गुप्ताको परिवारका चारै जनाको दुःखद् निधन भएको छ । शनिबार साँझ भएको यो दुर्घटनाले नेपालगञ्जको त्रिभुवनचोक शोकमग्न हुन पुगेको छ ।
शनिबार बिहान निलान्स र सुनिती मामाघर घुम्न तथा वैभव माइतीमा रहेकी श्रीमती दिपिकालाई लिन बलरामपुर पुगेर फर्किने क्रममा दुर्घटना भएको थियो ।
नेपालगञ्जको त्रिभुवन चोकस्थित एसकुमार वाच कम्पनीका सञ्चालक निलान्स र सुनितीका पिता सन्तोष गुप्ताले दुई परिवारका छ जना एउटै गाडीमा शनिबार बिहान बलरामपुर पुगेर साँझ घर फर्किंने गरी यात्रा गरेको जानकारी दिए ।
त्रिभुवन चोकका बासिन्दा मृत्युको खबर पाएदेखि शनिबार रातभर सुतेका थिनन् । गुप्ताको घरमा आफन्तजन र स्थानीयको भीड लागेको थियो भने चारैतीर रुवाबासीको अवस्था थियो ।
स्थानीय ब्राइटल्याण्ड कलेजमा बिबिएसमा अध्ययनरत सुनितीको निधनको खबरले कलेजका विद्यार्थी शोकमग्न भए । घटनाले स्तब्ध हुन पुगेका साथीहरु बिहानैदेखि सुनितीको घरमा जम्मा भएका थिए ।
भारतको बलरामपुरबाट नेपालगञ्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्राबस्ती जिल्लाको इकौना नजिक सडकमा शनिबार राति गाईसँग ठोक्किँदा दुर्घटना भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।
दुर्घटनामा परी नेपालगञ्ज सदरलाइन निवासी औषधि व्यवसायी दिनेश गुप्ताका छोरा ३५ वर्षीय वैभव गुप्ता, वैभवकी श्रीमती ३२ वर्षीया दिपिका गुप्ता, तीन वर्षीय छोरा डल्लु र छ महिनाकी छोरी श्रीया तथा त्रिभुवन चोकस्थित एसकुमार वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताका छोरा २२ वर्षीय निलान्स र छोरी २० वर्षीय सुनितीको निधन भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका गाडी चालक भारतीय नागरिक अजय मिश्रको उपचार भइरहेको छ । उनको अवस्थासमेत चिन्ताजनक रहेको बताइएको छ ।
मृतकहरुको भारतको बहराइचमा शव परीक्षण गरिएको आइतबार नै नेपालगन्ज ल्याइएको छ । उनीहरुले हिन्दू धार्मिक परम्पराअनुसार आइतबार बेलुका नै अन्त्यष्ठी गरिएको छ । उनीहरुको नेपालगन्जस्थिति बुलबुलिया नजिक अन्त्यष्ठी गरिएको थियो ।