बाँके –
के तपाईलाई अहिले चर्चामा आएको ‘बादल, वर्षा, बिजुली’ गीतको वास्तविकता थाहा छ ? यस गानाको निर्माण मुम्बईको त्यो सिनेमाघरको प्रभावबाट बनाइएको थियो, जुन कहानी आजभन्दा २० वर्ष पुरानो हो ।
‘बादल, बर्षा, बिजली’ गानाको सुरुवात गर्नु अघि म तपाईलाई अर्को एउटा गीत बारेको बारेमा बताउन चाहान्छु । त्यो गीत हो, ‘आगो लाग्यो दिलैमा दमकल बोलाइदेउ’ । यो गित आफ्नो समयमा अत्याधिक रुचाइएको गीतको थियो । सायद यो गीत तपाईले कहि कतै सुन्नु भएकै होला ।
२०५० को दशकको मध्यतिर शर्मिला बर्देवा र थुप्तेन भुटियाले गाएको आगो लाग्यो दिलैमा दमकल बोलाइ देउ गीत अत्यधिक चर्चामा थियो । रेडिओमा पटकपटक बजिरहन्थ्यो यो गीत । टीभीमा पनि त्यस समयका चर्चित कलाकारहरू शिव श्रेष्ठ र बिपना थापाले उक्त गीतको तालमा कम्मर मर्काएको दृश्य निकै प्रसारण भएको थियो । गीतकै कारण चलचित्र ‘सगुन’को राम्रै प्रचार भएको थियो ।
सचिन सिंहको सङ्गीतमा शब्द भरेका थिए गीतकार करुण थापाले । त्यही गीतका कारण आफूकहाँ दर्जनौँ चलचित्र निर्माता र निर्देशकहरू “कमर्सिअल गीत लेखिदिने” आग्रह बोकेर आएको सम्झन्छन् थापा ।
पेसाले कम्प्युटर सफ्टवेअरको क्षेत्रमा सक्रिय थापा साहित्य लेखनलाई– चलचित्रको दुनियाँबाट अलग रहेर, आफ्नो सन्तुष्टिअनुरूप निरन्तरता दिन थालेका थिए । तर भिडिओ साझा गर्ने एप टिकटकले उनी लिखित अर्को फिल्मी गीत “बादल वर्षा बिजुली”लाई एकाएक चर्चामा ल्याइदियो ।
दुई दशक अघिको गीतमा आजको पुस्ता रमाइरमाइ नाचे, भिडिओ बनाए । गीत नेपालमा मात्र होइन भारत र अन्य देशबाट इन्स्टा÷फेसबुक र अन्य सामाजिक संजालमा ट्रेन्डिङमा आयो।
चलचित्र ‘कर्तव्य’का लागि गीत लेखिदिन २०६० सालमा आग्रह गर्दै थापाकहाँ पुगेका थिए निर्देशक नारायण पुरी । उक्त चलचित्रका लागि एउटा मार्मिक शैलीको र अर्को मनोरञ्जनात्मक गीत लेख्न सहमत भएको थापाले सुनाए ।
करिब दुई सातासम्म आफूले त्यस सङ्गीतलाई “दिमागमा बोकेर हिँडेको” तर तत्काल उचित शब्द रच्न कठिन भएको थापा सम्झन्छन् । त्यतिबेला चलचित्र सम्पादनसमेत गर्ने थापा बेलामौकामा साउन्ड मिक्सिङका लागि तत्कालीन बम्बई पुग्थे । हाल फिल्म सिटी भनिने मुम्बईको कुनै गल्लीमा एउटा सिनेमाघर छ जसको नाम थियोः बादल–बिज्ली–बर्खा ।
हरेकपटक त्यो बाटो हिँड्दा उनको आँखा ठूला अक्षरले लेखेको त्यो नाममा पर्ने गथ्र्यो ।
तीन वटा पर्दामध्ये आगलागीका कारण सन् १९८९ मा बर्खा बन्द भएकोबारे विभिन्न विवरणहरू सार्वजनिक छन् । बाँकी दुईवटा पर्दा त्यसपछिका वर्षहरूमा भिडिओ पाइरेसीको कारण देखाउँदै बन्द भएको बताइन्छ ।
अहिले त्यस हल रहेको ठाउँमा मुभीटाइम स्टार सिटी सञ्चालनमा छ । यद्यपि जहाँ अवस्थित छ त्यस संरचनालाई बादल–बिज्ली–बर्खा कम्प्लेक्स भनिन्छ ।
धुन र सरल शब्दहरूका कारण यो गीतलाई आम मानिसले रुचाएको करुण थापा बताउँछन् ।
रोचक भएकै कारण स्मृतिमा बसेका तीनै शब्दहरूले थापालाई नयाँ गीतको स्थायी रचना गर्न मद्दत पु¥यायो। सुरुमा ती शब्दलाई नेपालीमा गुनगुनाएर हेरेँको र सङ्गीतअनुसार बादल, वर्षा र बिजुली मीठो सुनियो र त्यसैमा साउनको पानी थपेको थापाले बताए ।
सन् २००४ ताका आनन्द कार्की र प्राश्ना शाक्यले गाएको उक्त गीत हिट भयो। कारणवश त्यो नै चलचित्रका लागि थापाले लेखेको अन्तिम गीत बन्यो ।
त्यसपछि गत जेठको मध्यतिर निरन्तर पानी परिरहेको थियो। झरी पर्दा चिसिने काठमाण्डूमा यदाकदा उनले लेखेको त्यो गीतको स्थायी सुनिन थालेको थियो। एकदिन थापाकी कान्छी छोरी मोबाइल बोकेर बुबा नजिकै पुगिन् र भनिन्, ‘बाबा हजुरको गीतमा त दुई हजार जनाले भिडिओ बनाइसकेछन् ।’
त्यो संख्या थापालाई खासै उल्लेख्य लागेन। त्यसको एक सातापछि भिडिओ बनाउनेको संख्या ६० हजार पुगिसकेछ। त्यो क्रम झन् झन् बढ्दै गयो ।
हाल टिकटकमा अपलोड भएको मूल अडिओ करिब सात लाख पैँतिस हजार पटक प्रयोग भएको छ। त्यसबाहेक अन्य खाताबाट राखिएका अडिओहरू पनि हजारौँ पटक प्रयोग भएका छन् । गीतको चर्चा टिकटकमा सीमित रहेन । इन्स्टाग्राम र फेसबुकमा रिल्स बनाउने भारतीय प्रयोगकर्तामाझ पनि यो गीत उत्तिकै चर्चित ठहरिएको छ ।
भारतकी चर्चित यूट्यूबर प्राजक्ता कोलीले यस गीतमा नाचेको भिडिओ झन्डै ३० लाख पटक हेरिएको छ र एक लाख तीस हजारले लाइक गरेका छन् । अर्को भारतीय यूट्यूब च्यानल जुमजुमले बनाएको कभर भिडिओ हालसम्म ९६ लाखभन्दा बढी पटक हेरिएको छ ।
गीतका केही अंश र कभर गायन तथा भिडिओहरू दर्शकले रुचाएको देखेपछि सम्बन्धित स्रष्टाहरू ‘बादल वर्षा बिजुली’ गीत नयाँ भिडिओसहित पुनः उत्पादन गर्ने निचोडमा पुगे ।
भिडिओको गुणस्तरलगायत अन्य प्राविधिक पक्षलाई ध्यानमा राख्दै दुई साताअघि गीतको नयाँ संस्करण सार्वजनिक भयो । यसपटक पछिल्लो पुस्ताका चर्चित कलाकारहरू कविता नेपाली र विजु पार्की भिडिओमा देखिए । सुव्रतराज आचार्यद्वारा निर्देशित उक्त भिडिओ यूट्यूबमा हालसम्म करिब १५ लाख पटक हेरिएको छ ।
आम मानिसमा इन्टरनेटको सहज पहुँचले आम मानिसलाई गीत र स्रष्टाहरूसँग नजिक बनाएको उनको बुझाइ छ ।
गीतकार थापालाई भने गीतको चर्चाको कारण सरल शब्द, ध्यानाकर्षण गराउने ताल, मीठो आवाज हो भन्ने लाग्छ ।
उनले जुम्ल्याहा दिदीबहिनी प्रिन्सी र प्रिज्मा खतिवडालाई इङ्गित गरेका हुन् जसले यस गीतमा पहिलो टिकटक भिडिओ बनाए । त्यसपछि बनेका हजारौँ भिडिओहरूमा उनीहरूले गरेकै नृत्यको चाल अनुसरण भएको देख्न सकिन्छ ।
यद्यपि गीतका सर्जक तथा सर्वाधिकार रहेको साइराम पिक्चर्स यो गीत कहाँ कहाँबाट कति वटा च्यानलहरूमार्फत् सार्वजनिक भइरहेको छ भन्नेबारे अनभिज्ञ छन् । फरकफरक सञ्जालहरूमा लाखौँ पटक बजिरहँदा रोयल्टी परको कुरा क्रेडिटसमेत नपाएको उनीहरूको दुखेसो छ ।
यस्ता विषयमाथि नियमन गर्ने निकाय नहुँदा केही च्यानल तथा व्यक्तिहरूलाई सर्जक स्वयंले मेसेज वा इमेल गरेका छन् ।
यस विषयमा थापा भन्छन् कपिराइट दाबी गर्ने प्रक्रियामा छौँ तर के हुन्छ टुङ्गो छैन । तर ज–जसले प्रयोग गर्नुहुन्छ कम्तीमा लेखक, सङ्गीतकार र गायक÷गायिकाको नाम राखिदिए हुन्थ्यो ।
यो सामग्री हामीले विविसि नेपाली सेवाको सहयोगमा तयार पारेका हौं ।