बाँके –
निर्माण व्यावसायीहरूले निर्माणको भुक्तानीसहित ९ बुँदे माग राख्दै ललितपुरस्थित सडक विभागको कार्यालयमा धर्ना दिएका छन् । उनीहरूले आज सोमबार पनि सडक विभागको कार्यालयमा धर्ना दिएका हुन् ।
व्यावसायीले आन्दोलन गरेको १६ दिनसम्म पनि सरकारले निर्माण व्यावसायीहरूका आवाज नसुनेको भन्दै अझै सशक्त आन्दोलन गर्ने चेतावनी दिए । धर्ना कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यावसायी महासंघका अध्यक्ष रवि सिंहले सडक विभागमा तालाबन्दी गर्ने आफ्नो अधिकारलाई सरकारले नदिएको बताए । उनले सरकारले सडक विभागसम्म जान नदिए सडक जाम गर्ने चेतावनी दिए ।
बिना बजेटका टेण्डर निकालेर निर्माण व्यावसायीहरूलाई ट्रयापमा पार्ने काम भएको सिंहले आरोप लगाए ।
व्यावसायीहरुले सार्वजनिक खरिद अनुगमन अघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर,व्यवहारिक माइल स्टेन खारेज गर, गुणस्तर र समयमा निर्माण हाम्रो प्रतिबद्धता, उपभोक्ताबाट निर्माण कार्य गर्ने नियम खारेज गर, खरिद नियमावलीको नियम ६ लाई कडाइका साथ लागू गर र निर्माण व्यावसायी एकता जिन्दाबाद लेखेको प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका छन् ।