बाँके –
केही दिनयता टिकटक, फेसबुक, इन्स्ट्राग्रामलगायतका सामाजिक सञ्जालमा बर्दीवाल प्रहरी जवान र सेतो गन्जी तथा निलो कट्टु लगाएका सर्वसाधारणबीच झगडा भएको भिडियो भाइरल बन्यो । ती सर्वसाधारण केहीबेर प्रहरीसँग जाइलाग्छन् र अन्तिममा अटोको अघि सडकमै लम्पसार परेर पल्टिन्छन् ।
उक्त भिडिओमा सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रहरीको व्यवहारमाथि प्रश्न उठाइरहेका छन् । केहीले प्रहरीको ज्यादती भएको भनेका छन् भने केहीले ती व्यक्तिले गल्ती गरेकै भएर प्रहरीले त्यसो गरेको हुनसक्ने अनुमान गरेका छन् ।
हेलो सरकारले पनि नेपाल प्रहरीको आधिकारिक ह्यान्डल मेन्सन गर्दै सत्यतथ्य छानबिन गरी कारबाहीको प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको थियो ।
सर्वसाधारणले सामाजिक सञ्जालमा उठाएको विषयलाई सम्बोधन गर्दै नेपाल प्रहरीले स्पष्टीकरण दिएको छ । सोमबार एक पोस्ट राख्दै प्रहरीले उक्त घटना शनिबार भएको बताएको छ ।
प्रहरीका अनुसार भिडिओमा देखिएका सर्वसाधारण चितवन, कालिका नगरपालिका घर भई हाल भरतपुर महानगरपालिका १८ बस्दै आएका ४२ वर्षीय देउ कुमार डुम्जन हुन् । उनले मादक पदार्थ सेवन गरि अटो चलाउँदै आइरहेका थिए ।
अटो चलाउनै नसक्ने अवस्थामा रहेका डुम्जनलाई ड्युटीमा खटिएको ट्राफिक प्रहरीले सम्भावित दुर्घटनालाई रोक्न उनको अटो नियन्त्रणमा लिन खोजेका थिए । उनले अटो दिन नमानेपछि जबरजस्ती अटो चलाउन खोजे । त्यसपछि प्रहरी र डुम्जनबीच धकेला धकेल भएको थियो ।
“तत्पश्चात निजको श्रीमती सरिता तामाङ बोलाई उहाँकै जिम्मा लगाई पठाइएको जानकारी गराउँदछौ,” नेपाल प्रहरीले भनेको छ ।