बाँके –
नेपालमा पहिलोपटक केरामा लाग्ने पानामा रोगको नयाँ प्रजाति टी आर–४ भेटिएको छ । पानामा रोग केरामा लाग्ने प्रमुख रोग हो । पानामा ढुसीका ४ प्रजातिमध्ये केराका लागि खतरनाक मानिएको टी आर ४ कैलालीको टिकापुरका व्यावसायिक केरा बगैँचामा भेटिएको हो ।
कृषि वैज्ञानिकको एक टोलीले एक महिना लगाएर टिकापुरका नौ जना किसानको बगैँचामा आठ हजार बोटमा अवलोकन गरेर नमुना हङकङ पठाएको थियो । नमुनाबाट टी आर ४ नामक हानिकारक ढुसी प्रजाति केरामा लागेको पुष्टि भएको नार्कका बाली रोग वैज्ञानिक डा रामबहादुर खड्काले बताएका छन् ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायले अन्वेषण गरी यस्तो तथ्य पत्ता लागेको हो । नेपालको रैथाने केरा मालभोग रहे पनि अहिले व्यावसायिक रुपमा भइरहेको केरा खेतीको ७०–८० प्रतिशत हिस्सा ‘जी नाइन’ जातको केरा छ ।
वैज्ञानिकहरुले विश्वमा व्यावसायिक केरा खेतीका लागि विकास गरेको ‘जी–नाइन’ जातको केरामा पहिलो पटक १९९६ मा इन्डोनोसियामा यो रोग पुष्टि भएको थियो ।भारतमा सन् २०१५ मा यो रोग देखिए पनि नेपालमा पहिलोपटक पुष्टि भएको हो ।
नार्कका वैज्ञानिकहरुका अनुसार नेपालमा अहिले व्यावसायिक रुपमा ‘जी–नाइन’ जातको केरा खेती भइरहेको छ । यो प्रजातिमा नयाँ रोग लागे केराको पुराना पातको फेद कुहिने र धेरै फैलिएपछि बोट ढल्ने हुन्छ । यो रोग गानो र माटो तथा संक्रमित क्षेत्रबाट अर्को ठाउँमा हुने ओसार पसारबाट फैलने विज्ञले बताएका छन् । अहिल्यै रोग नियन्त्रण गर्न नसके नेपालमा व्यावसायिक केरा खेती मासिने जोखिम रहेको विज्ञहरु बताउँछन् ।
तत्काल रोग देखिएको ठाउँ सिल गरेर निर्मलीकरण गर्न र त्यहाँबाट हुने ओसार पार तथा मानवीय गतिविधि रोक्न, किसानलाई आवश्यक जानकारी दिन पनि अनुरोध गरिएको छ । तत्कालका लागि पानामा रोगको नयाँ प्रजाति टी आर–४को उपचार पद्धति नभएकाले सतर्कता अपनाउन विज्ञहरुले अनुराधे गरेका छन् ।
यसका अलवा व्यावासयिक नेपाली किसानहरुले लगाएको केरा खेतीमा ओइलाउने रोग पनि प्रमुख समस्याका रुपमा देखा परेको छ । यस रोगको शुरुमा पुराना पातको किनाराबाट पहेंलिन शुरु भइ मुख्य नशातिर बढ्छ । रोगी पातको भेटनो फुटी तलतिर झुण्डिन्छन् र पात ओइलाउँछ । जमिन छेउका डाँठ ढाक्ने पातहरू लम्बाई पट्टिबाट फाँटछन् ।
यस्तो अवस्थामा रोगी केरालाई उखलेर जलाउने, रोगी बोटको पातहरू जलाउने र झांगमा चून वा बोर्डेक्स मिक्स्चर छर्ने र एकै ठाउँमा केरालाई सकभर ३ वर्ष भन्दा बढी नलगाउने गर्नु पर्दछ ।
अर्को केरामा देखिने समस्या भनेको बन्ची टप पनि हो । यसमा रोगी पातहरूको आकार साना, पहेला र किनारा माथितिर बटारिएका हुन्छन् । रोगी पातमा मसिना हरिया थोप्ला र धब्बा पनि देखिन्छन् ।
यस्तो अवस्थामाा रोगी बिरुवा जम्मा गरेर जलाई दिने, यो लाही कीराबाट सर्ने रोग हो त्यसैले रोगोहिट मिलि प्रतिलीटर पानीमा मिसाएर छर्ने र बीउको लागि प्रयोग हुने गानाहरू स्वस्थ्य क्षेत्रको बोटबाट मात्र लिने गर्न पर्दछ ।
साथै केरा खेतीमा समस्या पार्ने अर्को रोग भनेको कोत्रे पनि हो । यस रोग लागेपछि फलहरू पहेलिन्छ र बोक्रामा साना र खैरा थोप्ला देखा पर्दछ । यि थोप्लाहरू जोडिएर केहि धस्रेको जस्तो हुन्छन धेरै आक्रमण भएमा फल कालो भई चाउरिन वा सुक्न सक्छ ।
यस्तो अवस्थामा फल र बिरुवालाई चोट पटक लाग्न बाट जोगाउने, कपर अक्सिक्लोराइड ३ ग्राम प्रति लीटर पानीको दरले कोसामा छर्ने ।
र गानो कुहिने समस्याले पनि केरा खेतीको उत्पादनलाई कम गर्न सक्छ । यस रोगले गानामा शुरुमा पानीले भिजेको जस्तो खैरा धब्बाहरू देखापर्दछ । पछि ती धव्वाहरूबाट नै कुहिन शुरु हुन्छ ।
यस्तो लक्ष्यण देखिएमा स्वस्थ्य ठाउँबाट गानो ल्याई रोप्ने, रोगी बोट जलाएर नष्ट गर्ने, गानालाई स्ट्रे्प्टोमाइसिनमा केही समय डुबाएर रोप्ने गर्र्नु पर्दछ ।