राप्ती सोनारी क्षेत्रमा पहिलोपटक ठूलो मात्रामा फूलको खेती सुरु भएको हो । जसबाट करिब २५ देखि ३० जनाले प्रत्यक्ष रोजगारी पाउने संस्थाका प्रवद्धक अमर गौतमले बताए ।
बाँके –
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ स्थित कचनापुरमा रहेको साना किसान कृषि सहकारी संस्थाले यस वर्ष २ बिघा क्षेत्रफलमा सयपत्री फूलको खेती सुरु गरेको छ । साना किसान कृषि सहकारीका अध्यक्ष एवम् सोही वडाका वडा सदस्यसमेत रहेको दीर्घबहादुर बुढाथोकीले जग्गा भाडामा लिएर यस वर्षदेखि सयपत्री फूलको खेती सुरु गरिएको बताएका हुन् ।
साना किसान कृषि सहकारी संस्थाले यस वर्ष लक्ष्मी माध्यमिक विद्यालयको करिब साडे ८ बिघा जमिन १० वर्षको लागि भाडामा लिएर कृषि तथा पशु व्यावासयी संचालन गरेको छ । साना किसानले वार्षिक ४० हजार रुपैयाँमा उक्त जग्गा भाडामा लिएको हो । सोहीअन्तर्गत आइतबार साना किसानले २७ हजार सयपत्रीका बाटहरु रोपेको अध्यक्ष बुढाथोकीले बताए ।
‘हाज हामीले २५ जना कामदार लगाएर २७ हजार बढी सयपत्रीका बिरुवा रोपेका हौं,’ अध्यक्ष बुढाथोकीले भने, ‘हामीले २७ हजार बोट सयपत्रीका बिरुवामात्रै १ लाख ३७ हजार रुपैयाँमा खरिद गरेको छौं ।’
राप्ती सोनारी क्षेत्रमा पहिलोपटक ठूलो मात्रामा फूलको खेती सुरु भएको हो । जसबाट करिब २५ देखि ३० जनाले प्रत्यक्ष रोजगारी पाउने संस्थाका प्रवद्धक अमर गौतमले बताए । ‘हाम्रो प्रमुख उद्देश्य भनेको बीउ उत्पादन गर्ने हो । हामीले धानको बीउ, मकैको बीउ, गहुको बीउ उत्पादन गर्ने पनि उद्देश्य लिएका छौं । यो योजनाले अबको केही दिनमा नै करिब ३, ४ जनालाई प्रत्यक्ष रोजगारी दिनेछ,’ गौतमले भने ।
साना किसान कृषि सहकारीले सुरु गरेको कृषि तथा पशु व्यावासयी संचालन कार्यक्रममा करिब १० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसअन्तर्गत साना किसानले २ बिघा क्षेत्रफलमा मात्रै धान खेती सुरु गरिसकेको छ । अध्यक्ष बुढाथोकीका अनुसार सहकारीले राधाचार बीउ उत्पादन गर्न २ लाख ५० हजार रुपैयाँको लागतमा धान खेती सुरु गरेको हो ।
यस्तै साना किसानले २ लाख ५० हजार रुपैयाँको लागतमा २ बिघा क्षेत्रफलमा रामदुत कम्पोडेड मकै खेतीसमेत गरेको छ भने बाँकी रहेको जग्गामा अकबरे खुर्सानी लगाउने योजना रहेको अध्यक्ष बुढाथोकीले बताए ।
उक्त सहकारीले धान र मकै खेती गर्दा १५ जनालाई ७ दिनसम्मको रोजगार प्रदान गरेको थियो ।