बाँके –
मलेसियामा जारी आइसीसी महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटमा नेपालले बहराइनमाथि सानदार जित दर्ता गरेको छ । मलेसियाको सिलोंग्र ट्रफमा लगातार दोस्रो जित हात पार्ने क्रममा नेपालले बहराइनलाई १० विकेटले पराजित गरेको हो ।
बहराइनले दिएको ३२ रनको लक्ष्य नेपालले २ दशमलब ५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । नेपालको जितमा ओपनर कबिता कुवरले १४ बलमा १८ रन बनाईन् । अर्का ओपनर सिता रानामगरले ३ बलमा २ रन बनाईन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले १५ दशमलब ४ ओभरमा ३१ रनमा अलआउट भएको थियो । बहराइनका लागि कप्तान दीपिकाले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि इन्दु बर्माले ३ तथा खुसी डंगोलले २ विकेट लिइन् । पूजा महतो, रुबिना क्षेत्री र कबिता कुँवरले समान १-१ विकेट लिइन् ।
बहराइनविरुद्धको खेलमा नेपालकी इन्दु बर्मा प्लेयर अफ द म्याच भएकी छिन् । नेपाललाई १० विकेटको फराकिलो जित दिलाउन महत्वपुर्ण समयमा विकेट लिन सफल बर्मा प्लेयर अफ द म्याच बन्न सफल भएकी हुन् ।
इन्दुले ४ ओभरमा २ मेडन राखेर ५ रन खर्चिदै ३ विकेट लिएकी थिईन् । बर्माले २४ मध्ये २२ डट बल गरेकी थिईन् ।
नेपालले तेस्रो खेलमा १७ गते भुटानसँग र चौथो खेलमा १८ गते कतारसँग खेल्दैछ । नेपालले समूह चरणको अन्तिम खेलमा १९ गते युएईसँग खेल्दैछ । प्रतियोगिताको २१ गते सेमिफाइनल खेल रहेको छ । २२ गते प्रतियोगिताको फाइनल खेल रहेको छ ।
प्रतियोगितामा ११ राष्ट्रको सहभागीता रहेको छ । सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ ।
प्रतियोगितामा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् ।
प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी–ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन् ।