विक्रम बुढाक्षेत्री / बाँके
बाँकेको खजुरामा रहेको ज्ञानोदय नमुना माध्यमिक विद्यालय जिल्लाका उत्कृष्ठ विद्यालयमध्येको एक हो । स्थापनाका हिसाबले कान्छो मानिने ज्ञानोदयको परिवर्तन रोचक छ । त्यहि ज्ञानोदयको रोचक परिवर्तन र विद्यालयको विकासमा सबै तहका कर्मचारीको सहयोग भने अवस्य रहेको छ ।
ज्ञानोदयको यो परिवर्तनको इतिहास बोकेका एकजना कर्मचारी हुन्, कार्यालय सहयोगी रामबहादुर थापा । २८ वर्ष ज्ञानोदयमा बिताएका रामबहादुर ज्ञानोदयमा थपिएका हरेक इट्टा र विद्यार्थीका साक्षी हुन् ।
ज्ञानोदयका प्रध्यानाध्यापक ऋषिराम सापकोटा रामबहादुर थापा कार्यालय सहयोगी भएता पनि विद्यालयभरी बढी रुचाइएको व्यक्ति रहेको बताउँछन् । ‘रामबहादुर थापा पदको हिसाबले ज्ञानोदयको कार्यालय सहयोगीमात्र हुन् । तर उनीमा कमाण्डिङको राम्रो क्षमता थियो । उनै यति धेरै इमान्दान थिए की । यत्रो वर्ष हामीहरु बरु कहिले काँही ढिला हुन्थ्यो होला, उहाँ जहिलै समयमा विद्यालय आउनु हुन्थ्यो ।’ सापकोटाका अनुसार रामबहादुर ज्ञानोदयमा धेरै कम बिदा लिने कर्मचारीमध्येका एक हुन् ।
अब रामबहादुरलाई उमेरको बाध्यताले ज्ञानोदायमा सेवा दिनबाट वञ्चित गराएको छ । बाध्यताले उनलाई बुधबार ज्ञानोदयले बिदाई गर्नु पर्यो ।
बिदाई कार्यक्रममा हसिला देखिएका रामबहादुर कार्यक्रम सकिँदै गर्दा दुखी देखिए । सायद उनीको आँखाबाट आँशु आउन खोजे जस्तो देखिन्थ्यो । तर कमाण्डिङ क्षमताका अब्बल रामबहादुरले मेरो मुटु कमजोर छैन र अझै म काम गर्न सक्छु भन्ने प्रमाण पेस गरिरहेका थिए ।
कार्यक्रममा उनी बोल्न मानेनन् । यदि उनी बोलेको भए, सायद एक छिन मुटु कमजोर भई दिन्थ्यो होला र आँखा एकछिन भिज्थे होलान् ।
उनको त्यो बिदाईलाई ज्ञानोदय परिवारले खुसीका साथ मनायो । २८ वर्ष सेवागरेका उनलाई विद्यालयले आन्तरिक श्रोतबाट २ लाख ५० हजार नगदसहित सम्मान पनि ग¥यो र मायाँको चिनो दिएर बिदाई गर्यो ।
रामबहादुरप्रति अदेह स्नेह गर्ने ज्ञानोदयका शिक्षकहरु पनि उनलाई खाली हात पठाउन चाहन्न थेँ । शिक्षक कर्मचारीहरुले एकदिनको तलबबाट उपहार स्वरुप ५० हजारको सुनको औठी रामबहादुरलाई प्रदान गरे ।
उनलाई बिदाई गर्न विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष भिमसरा भण्डारी, खजुरा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तथा ज्ञानोदयका पूर्व अध्यक्ष पूर्णबहादुर भन्डारी, पूर्व अध्यक्ष भक्तबहादुर केसी, कोपिला कंडेल, पिटिए अध्यक्ष मानबहादुर भण्डारी, प्रेम खरेल, पूर्व प्रध्यानाध्यापक घमानसिंह बस्नेतलगायत करिब ३ सय जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले रामबहादुरको बखान बाहेक अरु भन्ने भ्यउँ नै नपाए जस्तो देखियो । रामबहादुरको ईमानदारिता, कर्तब्य निष्ठताको प्रशंसाले कार्यक्रम गुन्जिएको थियो ।
ज्ञानोदयले यो खुसीमा रामबहादुरकी श्रीमती विष्णु थापालाई पनि संगै राखेको थियो । दुवैलाई ज्ञानोदयले दिएको मायाले साच्चिकै रामबहादुर ज्ञानोदयको इतिहास बोकेका एक खम्बा हुन्, भन्दा फरक नपर्ला ।