बाँके –
बाँकेको जानकीका गाउँकार्यपालिकामा कार्यरत स्थानीय सेवाका कर्मचारीहरुले शुक्रबार निजामती सेवा दिवसको विरोध जनाएका छन् । नेपालको संविधानको प्रस्तावनामा नै सबै प्रकारका विभेदको अन्त्य गर्ने प्रतिवद्दतालाई राज्यले बिर्सिएको र सबै तहका कर्मचारीहरुमा सेवा सुविधा तथा वृत्ती विकासका अवसरहरु समान तथा वैज्ञानिक हुनुपर्ने भन्दै हातमा कालो पट्टी बाँधी विरोध जनाएका हुन् ।
कर्मचारीहरुले अब बन्ने संघीय निजामती सेवा ऐनमा विभिन्न किसिमका माग राख्र्दे २०८० भाद्र २२ गते शुक्रबारका दिन मनाउने भनिएको निजामती सेवा दिवसको विरोध जनाएका छन् । उनीहरुले स्थानीय सेवाका कर्मचारीहरुलाई पनि निजामती सेवाभित्र समेटिनु पर्ने, अनुमानयोग्य र चक्रिय सरुवा प्रणाली लागू गर्नुपर्ने, बहालवाला कर्मचारीहरु खुला प्रतियोगिता मार्फत बढुवा हुँदा पुरानो सेवा अवधीलाई समेत गणना गरी साविकको सेवा सुविधालाई निरन्तरता दिनुपर्ने, निजामती सेवा अस्पतालको सेवा प्रत्येक प्रदेशमा विस्तारिकरण गरी सबै कर्मचारीहरुलाई समेट्नु पर्ने, सेवाको सुरक्षा हुनुपर्ने, कार्यसम्पादनलाई उच्चस्तरको बनाउन उचित उत्प्रेरणामुलक कार्यक्रमको व्यवस्था गर्नुपर्ने, सँघ, प्रदेश र स्थानिय तहका कर्मचारीहरुको सेवा सुविधा तथा वृत्ती विकासमा समानता हुनुपर्ने, अन्तरप्रदेश सरुवाको व्यवस्था निजामती सेवा ऐनमा गरिनुपर्ने भन्दै ८ बुँदे माग राखेका हुन ।
विरोध कार्यक्रममा निमित्त प्रमुख प्रशासकिय अधिकृत मतिन अहमद अन्सारी, योजना शाखा प्रमुख शोभा पौडेल, प्राविधिक शाखाका प्रमुख ईन्जिनियर धन वहादुर रोकाय, कृषि शाखाका प्रमुख मनोज कुमार मन्डल, सूचना शाखा प्रमुख विकास जि सि, प्रशासनका गोपी चौलागाँई, जिन्सी शाखाका राजु यादव, लेखा शाखाका दिपक के सी लगायत पालिकामा कार्यरत अन्य कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।