बाँके –
शनिबार नेपालगन्जमा कम्प्युटर एसोसियसन नेपाल महासंघ (क्यान) बाँके शाखाको १५औं वार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न भयो । साधारण सभाको उद्घाटन सत्रमा बाँके, बर्दिया, लुम्बिनी प्रदेश तथा केन्दीय पदाधिकारी र बाँके शाखाका पूर्व अध्यक्षसमेतको उपस्थिति रहेको थियो । उनीहरुले कार्यक्रममा सम्बोधन गर्ने क्रममा कम्प्युटर एसोसियसन नेपाल महासंघको नेतृत्व गर्न बाँके सक्षम रहेको बताएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि रहेका लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति विनोदप्रसाद ढकालले क्यानसँग विश्वविद्यालयको सहकार्य हुनु पर्नेमा जोड दिएका थिए । उनले वर्तमान समयमा टेक्नोलोजीको अति आवश्यक रहेको बताउँदै क्यानले देशलाई टेक्नोलोजीसँग जोडेको बताए ।
कार्यक्रममा क्यान महासंघ नेपालका उपाध्यक्ष ध्र्रुवराज शर्माले काठमाडौंभन्दा बाहिर सबैभन्दा बढी बाँके शाखाबाट केन्द्रमा प्रतिनिधित्व रहेको बताए । उनले क्यान बाँके शाखामा रहेका सदस्यहरु नेतृत्वका लागि सक्षम रहेको बताउँदै केन्द्रको नेतृत्वमा बाँके शाखा सधैं अग्रसर हुनु पर्ने बताए ।
त्यस्तै क्यान महासंघ नेपालका निवर्तमान अध्यक्ष नवराज कुँवरले बाँके शाखाले पनि क्यान महासंघको नेतृत्व गर्न सक्छ भन्ने उदाहरण पेस गर्नु पर्र्ने बताए । उनले काठमाडौंभन्दा बाहिरका जिल्लाका प्रतिनिधिहरु पनि केन्द्रको नेतृत्वमा जानु पर्नेमा जोड दिए ।
यसैगरी क्यान लुम्बिनी प्रदेशका अधयक्ष भोजराज तिमिल्सेनाले बाँके शाखाले हरेक वर्ष राम्रो काम गर्दै गएको जिकिर गरे । उनले बाँके शाखा लुम्बिनी प्रदेशको उत्कृष्ट शाखामध्येको एक रहेको बताए ।
यस्तै कार्यक्रममा क्यान महासंघ बाँकेका संस्थापक अध्यक्ष ईश्वरप्रसाद पोख्रेल, पूर्व अध्यक्षहरु संजय थापा, जितेन्द्रकुमार जोशी, धु्रवराज शर्मा, भुपाल गिरी, भोजराज तिमिल्सेना, सूर्य प्रकाश श्रेष्ठलगायतले बाँके शाखा सामाजिक कार्यमा पनि सक्रिय रहेको बताए ।
त्यसैगरी कार्यक्रममा बाँके शाखाका सचिव ओस्कार थापाले १०औं अधिवेशनपछि आएको वर्तमान कार्यसमितिले गरेका गतिविधिहरु कार्यक्रममा प्रस्तुत गरेको थिए । थापाले कार्यक्रममा क्यान महासंघ बाँके शाखाले २०७९ मंसिरपछि मैत्रीपूर्ण वनभोज कार्यक्रम, सम्मान कार्यक्रम, होली मिलन कार्यक्रम, भित्तेपात्रो विमोचन, प्रभात फेरि कार्यक्रम, मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता, आईटी एजुकेशन क्यारियर काउन्शिलिंग एण्ड साइबर सेक्युरिटी कार्यक्रम, कामदारहरुका लागि थप सीप कार्यक्रम, बृहत अन्तरक्रिया कार्यक्रमलगायतको काम गरेको उनले प्रस्तुतिकरण गरेका थिए ।
साथै कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीसमेत सम्मान एवम् मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा बाँके शाखाका अध्यक्ष शिशिर नारायण श्रेष्ठले नवनिर्र्वाचित अध्यक्ष टंक धामी र प्रथम उपाध्यक्ष चिरञ्जिवी ओलीलाई सम्मान गरेका हुन् ।