बाँके –
बाँकेको नेपालगन्जमा मंगलबार २०६२/६३ को जनआन्दोलनलाई झल्काउने दृष्य देखिएता पनि आज भने नेपालगन्ज शान्त बनेको छ ।
सामान्यरुपमा सुरु भएको नेपालगन्जको बिहानी दिन ढल्दै जाँदा तनावग्रस्त बन्दा १३ जना घाइते भएका थिए भने स्थितिलाई नियन्त्रणमा लिन सेनासमेत परिचालन गरिएको थियो ।
बागेश्वरी मन्दिर पूर्वी गेटबाट निस्केको ओमकार परिवारको र्यालीमा हजारौं मानिसको उपस्थिति रहेको देखियो । करिब ५ हजार बढी व्यक्तिको उपस्थिति रहेको उक्त समूहले सेतु बिक चोक, धम्बोझीहुँदै वीपीचोक पुग्दासम्म शान्त नै थियो ।
त्यसपछि उक्त जुलुसमा एक्कासी सिसा र ढुंगा प्रहार भयो र भिड भागाभाग हुन पुग्यो । त्यसपछि दुई पक्षबीच झडपको स्थिति सुरु भयो । वीपी चोकदेखि त्रिभुवन चोक र डांगा स्टेसनसम्मका विभिन्न भागहरुमा दुई पक्षहरुबीच झडप भएको थियो ।
आज नेपालगन्जका प्रमुख चोकहरु धम्बोझी, वीपी, त्रिभुवन, त्रिवेणी, सेतुविक, गणेशमानलगायतका स्थानमा प्रहरीको कडा उपस्थिति रहेको छ । यस्तै प्रहरीले नेपालगन्ज सहरका विभिन्न स्थानमा गस्तीसमेत गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै भारतबाट नेपाल फर्कने क्रममा सीमा नाका अलपत्र नेपालीहरुको पनि उद्धार कार्य सुरु गरिएको छ । उनीहरुलाई प्रहरीको रोहबरमा गन्तब्यसम्म पुर्याउने काम भई रहेको हो ।