बाँके –
कपिलबस्तुको बाणगंगामा विषालु सर्पले डसेर एकै घरका २ बालिकाको मृत्यु भएको छ । मंगलबार राति सर्पले डसेर गम्भीर बिरामी परेका बाणगंगा नगरपालिका–९ भलवाडका मोतिलाल क्षेत्रीका छोरी ३ वर्षीया रीतिका क्षेत्री र ८ वर्षीया इशिका क्षेत्रीको सर्पले डसेर मृत्यु भएको हो । उनीहरुलाई मंगलबार राति सर्पले डसेको थियो ।
दिदी र बहिनीको उपचारका क्रममा बुधबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.नेत्रबहादुर रानाले जानकारी दिए । उपचारको क्रममा बहिनी रीतिकाको बुधबार बिहान र दिदी इशिकाको साँझ मृत्यु भएको हो ।
उनीहरुलाई मंगलबार राति घरमा सुतिरहेको बेला सर्पले डसेको थियो। सर्पले डसेको थाहा पाएपछि दुवैलाई बुधबार बिहान उपचारका लागि कपिलवस्तुको गोरुसिंगेस्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो ।
तर त्यहाँ उपचार हुन नसकेपछि अभिभावकले उनीहरूलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगेका थिए । ढिलो उपचार सुरु गर्दा बालिकाहरुको मृत्यु भएको चिकित्सकले बताएका छन् ।