दाङ –
दाङको तुलसीपुरमा उप–महानगरपालिकामा श्रीमान श्रीमतीको शव फेला परेको छ । शनिबार बिहान तुलसीपुर – ९, बेलुवामा कोठा भाडामा बस्दै आएका अन्दाजी २५ वर्षीय सुशील भण्डारी र अन्दाजी २१ वर्षीया पवित्रा डाँगी भण्डारीको शब फेला परेको प्रहरीले बताएको हो ।
सुशीलको शव झुण्डिएको अवस्थामा र पवित्राको शव वेडमा फेला परेको हो । पवित्राको टाउकोमा चोट र नाक, मुखबाट रगत निस्किएको प्रहरीले बताएको छ ।
सल्यान त्रिवेणी गाउँपालिका वडा नम्बर ४ फलाबाङ घर भइ भण्डारी दम्पत्ती करिब डेढ महिना पहिले विवाह गरेर बेलुवामा कोठा भाडा लिइ मजदुरी काम गर्दै आएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिए ।
उनका अनुसार श्रीमान श्रीमती विगत दुई दिनदेखि कोठा बाहिर ननिस्किएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी निरीक्षक केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले ढोका खोल्दा एक जनाको शव झुण्डिएको अवस्थामा र एक जनाको शव वेडमा फेला पारेको हो । श्रीमानले श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेको प्रहरीको आशंका छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।