एजेन्सी –
प्यालेस्टाइनी इस्लामिक समूह हमासले इजरायलमाथि गरेको घातक आक्रमणमा परी कम्तिमा २२ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबार गाजापट्टीबाट भएको रकेट आक्रमणमा परी २२ जनाभन्दा बढीको मृत्यु भएको हो ।
आक्रमणमा परी शार हानेगेभ क्षेत्रीय काउन्सिलका प्रमुख (मेयर) ओफिर लिब्स्टेनको मृत्यु भएको स्थानीय स्रोतलाई उद्धृत गर्दै टाइम्स अफ इजरायलले जनाएको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शनिबारको आक्रमणपछि इजरायल युद्धमा रहेको र आतंककारी समूहले अभूतपूर्व मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।
उनले आफ्नो भिडियो सन्देशमा भनेका छन्, ‘इजरायलका नागरिकहरू, हामी युद्धमा छौँ। यो कुनै अपरेसन होइन । आज बिहान हमासले इजरायल र यहाँका नागरिकविरुद्ध एक अचम्म लाग्दो घातक आक्रमण सुरू गरेको छ ।’
हमासले इजरायलमा हजारौँ रकेट प्रहार गरेपछि र दर्जनौँ बन्दुकधारीहरूले इजरायलमा आक्रमण गरेपछि शुरू भएको झडपको केही घटनापछि तेल अवीवस्थि इजरायल रक्षा बलको मुख्यालयमा खिचिएको प्रधानमन्त्री नेतन्याहुको भिडियो सन्देश स्थानीय समयअनुसार ११ बजे पोस्ट गरिएको थियो ।
एपी न्युजका अनुसार दक्षिणी इजरायली शहर बेरशेबामा रहेको सोरोका मेडिकल सेन्टरले कम्तिमा २८० घाइतेको उपचार गरिरहेको र ६० जनाको अवस्था गम्भीर रहेको जनाएको छ।
प्रधानमन्त्री नेतन्याहुले सुरक्षा संगठनका अधिकारीहरूलाई बोलाए आतकंकारी प्रवेश गरेका शहरी क्षेत्रहरू खाली गर्नका लागि निर्देशन दिएको पनि उल्लेख गरेका छन् ।
मध्य तथा दक्षिण इजरायलमा शनिबार बिहान साढे तीन घण्टासम्म व्यापक रकेट हमला भएको थियो । यसबाहेक हमासले पाँचजना आईडीएफका सैनिकलाई अपहरण गरेको दाबी गरेको जेरुसेलनम पोस्टले बताएको छ । आईडीएफले भने त्यसको पुष्टि गरेको छैन । हमासको आक्रमणपछि आईडीएफले गाजापट्टीमा जवाफी हमला गरेको छ ।
त्यस्तै, इजरायलको विपक्षी दलका प्रमुखहरूले संयुक्त वक्तव्य जारी गर्दै आईडीएफलाई पूर्ण समर्थन दिँदै अन्तर्राष्ट्रिय समुदायलाई यसको निन्दा गर्न आग्रह गरेका छन् ।