डाँगीका अनुसार यदि कोही प्रशासनविरुद्ध गएको खण्डमा ‘अन द स्पोर्ट’ कारबाही गर्ने आदेश मिलेको छ । अवस्था अनुसार गोली पनि चलाउन सकिने आदेश मिलेको डाँगीले बताए ।
विक्रम बुढाक्षेत्री – बाँके
केही दिनअघि नेपालगन्जमा सृजित विषयलाई लिएर नेपाल प्रहरीले कडाई गरिरहेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार नेपालगन्ज सहरलाई शान्त राख्न ४ सय बढी प्रहरी परिचालनदेखि सद्भाव खलबलाउनेमाथि कडा निगरानी गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवत्ता नारायण डाँगीका अनुसार जिल्ला प्रहरीले शुक्रबारमात्रै सद्भाव खलबलाउने तथा कर्फ्युको अवज्ञा गर्ने ४ जना व्यक्तिलाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरु नाम भने गोप्पे राखेको छ । उनीहरुलाई प्रहरीले वीपी चोक आसपासबाट पक्राउ गरेको थियो ।
यतिखेर जिल्ला प्रहरीले सामाजिक संजालमा पोष्ट गरिएका विषय वस्तुमाथि पनि निगरानी गरिरहेको प्रवक्ता डाँगीले बताए । ‘नेपालगन्जमा हुनसक्ने घटनालाई नियन्त्रणमा लिन हामीले प्रशस्त प्रहरी परिचालन गरेका छौं भने सामाजिक संजालमा गरिने पोष्टहरुलाई पनि हामीले निगरानी गरिरहेका छौं,’ उनले भने, ‘यदि कसैले सद्भाव खलबलाउने क्रियाकलाप गरेको पाइएमा तुरुन्त पक्राउ गर्ने आदेश छ । हामीले टोल–टोलमा मोबाइल टोली पनि परिचालन गरेका छौं ।’
डाँगीका अनुसार यदि कोही प्रशासनविरुद्ध गएको खण्डमा ‘अन द स्पोर्ट’ कारबाही गर्ने आदेश मिलको छ । अवस्था अनुसार गोली पनि चलाउन सकिने आदेश मिलेको डाँगीले बताए ।
उता भारतीय बजार रूपैडियामा बसेर धार्मिक सद्भावमाथि खलल पु¥याउने कार्य गरेको भन्दै भारतीय प्रहरीले ६ जनालाई पनि पक्राउ गरेको छ । धार्मिक सद्भाव बिथोल्ने मनसायले सामाजिक सञ्जालमार्फत् उनीहरूले म्यासेज र भिडियो प्रवाह गरेको भन्दै भारतीय प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका भारतीय नागरिक भएको बुझिएको छ । रूपैडियास्थित भारतीय प्रहरीका अनुसार शुक्रबार एकजना, बिहीबार चारजना र बुधबार एकजनालाई पक्राउ गरिएको थियो ।
शुक्रबार सिराजुद्दीन पुत्र इकराम खाँलाई पक्राउ गरिएको आदर्श थाना रूपैडियाका प्रहरी अधिकारी वरदान सेनाले जनाए । त्यस्तै इमरान पुत्र लम्बुनिवासी बाबाकुट्टी, राजा पुत्र सोनुनिवासी बाबाकुट्टी सुजौली, शहवान कुरैशी पुत्र जमील र रहीश कुरैशी पुत्र इकबाललाई पक्राउ गरिएको उनले जनाए । यी चारजनालाई बिहीबार पक्राउ गरिएको हो ।
बुधबार आशिक सिद्दीकी पुत्र मोहम्मद सोफियानलाई पक्राउ गरिएको आदर्श थाना रूपैडियाका प्रहरी अधिकारी सेनाले जानकारी दिए ।
उनीहरूलाई थाना रूपैडिया बहराइचको धारा १५१, १०७ र ११६ सिआरपिसीअन्तर्गत पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ । पक्राउ गरिएकाहरूलाई धार्मिक उन्माद फैलाउन आइटी गतिविधिसम्बन्धी मुद्दा चलाइएको छ ।
रूपैडिया र बाबागंजमा सुरक्षा निकायको सामाजिक सञ्जालमाथि लगातार सतर्क दृष्टि रहेको र यदि कसैले धार्मिक सौहार्द वा शान्ति भंग गर्छ भने उसलाई पक्राउ गरी जेलमा राखिने भारतीय प्रहरीले प्रेस नोटमा उल्लेख गरेको छ ।
धार्मिक सद्भाव बिथोल्ने ६ जनालाई भारतीय प्रहरीले पक्राउ गरेको विषयमा बाँकेका सुरक्षा अधिकारीले अनविज्ञता प्रकट गरेका छन् । जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले यस विषयमा अनविज्ञता प्रकट गरे । ‘यस विषयमा मलाई जानकारी छैन । उनीहरूले पनि यस विषयमा जानकारी गराएका छैनन्,’ उनले भने ।
भारतमा बसेर गतिविधि गरेकालाई उतैको प्रहरीले पक्राउ गर्ने र मुद्दा चलाउने भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डाँगीले भने, ‘उनीहरूको प्रभाव यहाँ छैन । कतिजना भारतमा पक्राउ परे त्यो मेरो जिम्मेवारीसम्मकालाई थाहा छैन ।’
यस विषयमा नेपाल प्रहरी र भारतीय प्रहरीबीच कुरा गर्दा कुनै समन्वय नभएको दुवै पक्षले बताउँदै आएका छन् । भारतीय प्रहरीले चाहि नेपालगन्जमा भएको घट्नाले भारतमा प्रभाव पार्ने भन्दै सद्भाव खलल गर्नेप्रति कडा निगरानी गरिरहेको जनाएको छ ।
नेपालगन्जमा सिर्जित पछिल्लो अवस्थामा बाह्य व्यक्तिको संलग्नता भएको आशंका गरिएको छ । यहिँ आशंकाबीच भारतीय प्रहरीले उनीहरूलाई पक्राउ गर्नुमा केही अर्थ रहेको नागरिक समाजका अगुवाहरू बताउँछन् ।