बाँके –
नेपालगन्ज बसपार्कमा दसैं, तिहार र छठपर्वलाई लक्षित गरि यात्रु सहायताकक्ष स्थापना गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय बाँके, जिल्ला प्रहरी कार्यलय बाँके र वडा प्रहरी कार्यालय नेपालगन्जको सयुक्त आयोजनामा नेपालगन्ज बसपार्कको मुख्य गेटमा यात्रु सहायताकक्ष स्थापना गरिएको हो ।
नजिकिँदै गरेको चाड पर्वहरु दसैं, तिहार र छठ पर्वको अवसरमा मानिसहरुको आवतजावत एवम् सवारी साधनको चाप बढदै जाने हुँदा टिकट काउन्टरमा हुने भिडभाड, बढी भाडा लिने, यात्रु ठगिने कार्यलाई नियन्त्रण गर्न र नागरिकको पिरमर्कालाई तत्कालै सुनुवाई गरी समस्या सामाधान गर्नका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय बाँके नेपालगन्जका प्रहरी निरीक्षक गोपिकृष्ण सुवेदीले बताए ।
त्यस्तै वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख एवं प्रहरी निरीक्षक हरिबहादुर बुढाक्षेत्रीले अहिलेको अवस्था तथा आउँदै गरेको चाडपर्वमा बसपार्क क्षेत्रमा हुनसक्ने सम्भावित जोखिम नियन्त्रणका लागि सहायता कक्ष प्रभावकारी हुने बताए ।
कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै अस्थाई प्रहरी पोष्ट बसपार्कका प्रमुख प्रहरी सहायक निरीक्षक भरत ओलीका अनुसार अबदेखि सहायता कक्षमा दुईजना प्रहरीको नियमित उपस्थिति रहने छ भने प्रहरीले यस क्षेत्रमा हुने गलत कार्यसँगै यात्रुहरुले पाउने दुःख कष्टसँगै हुनसक्ने लुटपाट र ठगिको घटनमा नियन्त्रणमा हुने बताएका थिए ।
त्यस्तै उक्त कार्यक्रममा, यातायात व्यावसायी, टिकट काउन्टरका पदाधिकारी, स्थानीय व्यावसायीहरुको समेत उपस्थितिमा रहेको थियो ।