बाँके –
आइतबार एकजना सेवाग्राहीले जानकी गाउँपालिकाका लेखा शाखा प्रमुख मतीन अहमद अन्सारीलाई फोन गरेर मेरो कम कहिले हुन्छ ? भनेर सोधे । जवाफ लेखा प्रमुख अन्सारीले भने, ‘हामी त पेन डाउन गरेर आन्दोलनमा छौं । हेरौ कहिले खुल्छ । अनि तपाईको काम गरौंला ।
आइतबार पनि कर्मचारीहरुले ‘पेन डाउन’ गरेर आन्दोलनलाई क्रमश दिँदै गर्दा सेवा ठप्प भएको छ । जानकीको मात्रै नभएर जिल्लाका अन्य स्थानीय तहका कर्मचारीको भनाइ पनि यस्तै थियो, आइतबार ।
चाडपर्व नजिकिँदै गर्दा स्थानीय निकायको काम ठप्प हुनु, स्थानीय निकायबाट भुक्तानी हुनु पर्ने रकम भुक्तानी नहुनुले सेवाग्राही समस्यामा परेको देख्न सकिन्छ ।
नेपालगन्जमा पनि आइबार नेपालगन्ज उप–महानगरपालिकाअन्तर्गत २३ वटै वडाहरुमा कार्यरत कर्मचारीहरुले आन्दोलन स्वरुप ‘पेन डाउन’ गर्दा सेवा प्रभावित भएको छ ।
पालगन्जको परिसरमा बिहान १० बजे कर्मचारीहरु जम्मा भएर सरकारलाई दबाब दिन ‘पेन डाउन’ गरिएको स्थानीय तह कर्मचारी संघर्ष समितिका अध्यक्ष तेजेन्द्र रोकायले बताए । बाँकेका सबै स्थानीय तहहरुमा अत्यावशयक सेवा बाहेकका अन्य सवै सेवा प्रवाह ठप्प पारेर कर्मचारीहरु अनिश्चितकालीन पेन डाउनमा उत्रिएका छन् ।
नेपाल सरकार मन्त्रीपरिषदको गत भदौ २१ गते बसेको बैठकबाट संघीय निजामती विधेयक २०८० पारित गरी संसदमा पेश गर्ने निर्णय गरेको थियो । उक्त विधेयकमा स्थानीय कर्मचारीहरुको सेवा सुरक्षालगायतका विषयहरु अस्पष्ट भएको भन्दै देशभरका स्थानीय तहका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।
केन्द्रीय आन्दोलनका कार्यक्रम अन्तर्गत् बाँकेका स्थानीय तहका कर्मचारीहरु पनि संघर्षमा उत्रिएका छन् । शुक्रबारदेखि आन्दोलन थालिएको हो । २० बुँदे माग अघि सारेर कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि सेवा प्रवाहमा प्रभाव परेको छ ।