गत वर्षदेखि संस्थागत विद्यालयले +२ कक्षा संचालन गरेता पनि सामुदायिक विद्यालयतर्फ भने पहिलोपटक जानकील कक्षा ११ को पढाई सुरु भएको हो ।
बाँके –
बाँकेको जानकी गाउँपालिका मधेशी र मुस्लिम समुदायको बाहुल्यता भएको पालिका हो । जानकीको पूर्वमा नेपालगन्ज उप–महानगरपालिका, उत्तरमा कोहलपुर नगरपालिका र पश्चिममा खजुरा गाउँपालिकाको सीमा छ । जिल्लामा रहेको पालिकाहरुको चौतर्फी विकासको अवस्था हेर्दा जानकी अन्य पालिकाभन्दा पछि रहेको पाइन्छ । यहाँसम्मकी जानकीमा गत वर्षसम्म +२ कक्षा संचालन गर्ने माध्यमिक विद्यालयसमेत थिएनन् ।
जानकीका विद्यार्थीहरु +२ कक्षाका लागि कि त नेपालगन्ज वा खजुरा जानुपर्ने बाध्यता रहेको थियो । तर शैक्षिक सत्र २०८० देखि जानकीले पहिलोपटक +२ कक्षा संचालन गरेको छ ।
जानकीको वडा नम्बर ४, खजुराखुर्दमा रहेको जानकी माध्यमिक विद्यालयमा यो सत्रदेखि +२ कक्षा संचालनमा आएको पालिकाका अध्यक्ष छब्बन खाँले बताए । उनले यो वर्षदेखि विज्ञान संकालयको कक्षा ११ को कक्षा संचालनमा आएको जानकारी दिए ।
‘म निर्वाचन भएर आउँदै गर्दा हाम्रो जानकीमा एउटा पनि ११ र १२ कक्षा पढाई हुने विद्यालय थिएनन् । अभिल्लो वर्ष नै हामीले +२ कक्षा संचालन गर्ने योजना बनाएका थियौैं । सोही अनुरुप यो वर्षदेखि हामीले कक्षा ११ को पढाई संचालन गर्न सफल भयौं,’ अध्यक्ष खाँले भने ।
जानकीको शिक्षा तथा खेलकुद शाखाकी प्राविधिक सहायक झुमीकुमारी वलीका अनुसार जानकी माविमा दरबन्दी रहेको र कक्षा ९ र १० मा प्राविधिकतर्फ इन्जिनियरिङका कक्षाहरु पनि संचालन भएकाले जानकीमा +२ तर्फ विज्ञान संकायको कक्षा संचालनको स्वीकृति लिइएको बताइन् । उनका अनुसार गत वर्षदेखि संस्थागत विद्यालयले +२ कक्षा संचालन गरेता पनि सामुदायिक विद्यालयतर्फ भने पहिलोपटक जानकीले कक्षा ११ को पढाई सुरु भएको हो ।
जानकी माविका प्रध्यानाध्यपक लक्ष्मण आचार्यका अनुसार जानकीमा शैक्षिक सत्र २०७९ देखि इन्जिनियरिङ कक्षा संचालनमा आएको थियो । ‘पालिकाले विशेष प्राथमिकता दिएर परिषद्बाटै निर्णय गराएर विज्ञान संकायको कक्षा संचालन गरेको हो,’ प्रध्यानाध्यपक आचार्यले भने ।
आचार्यका अनुसार हाल कक्षा ११ मा ११ जना विद्यार्थी भर्ना भएका छन् । तर दैनिक कक्षामा उपस्थिति हुनेको विद्यार्थीको संख्या भने ५–६ जनामात्रै रहेको उनले बताए । उनले भने, ‘हामीलाई विज्ञान संकायको कक्षा संचालन गर्न धेरै गाह्रो छ । हामीसँग विज्ञान संकायको कक्षा संचालन गर्न पुस्तकालयको अभाव छ । सबै किसिमको पुस्तकहरुको अभाव छ । जीव विज्ञान, भौतिक विज्ञान, रसायन विज्ञानका प्रयोगशाला पनि छैनन् । पालिकाले आश्वासन दिएको छ, हेरौं ।’
प्रध्यानाध्यापक आचार्य पालिकाले शिक्षा संकायका कक्षाहरु पनि संचालन गर्नु पर्ने सुझाउँछन् । जानकीमा रहेका विद्यार्थीहरुको स्तरलाई आधार मानेर जानकी मावि वा अन्य विद्यालयमा शिक्षा संकायका कक्षाहरु संचालन गर्नु पर्ने उनको भनाइ छ ।