बुटवल –
पश्चिम नवलपरासीको रामग्रामबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा पटका बरामद गरेको छ । सशस्त्र प्रहरीको परासीस्थित कमाण्ड पोष्टको टोलीले रामग्राम १२ कुनुवारबाट प्रदेश ३ ००१ च ११३८ नम्बरको पिकअप र चालकसहित करिब १० लाख रुपैयाँको पटका नियन्त्रणमा लिएको हो ।
भारतबाट महेसपुर भन्सार नाका हुदै भित्र्याइएको पटका बिक्रीका लागि लाने क्रममा प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल २६ नम्बर गणका प्रहरी नायव उपरीक्षक यज्ञमान साउदले जानकारी दिए । कमान्ड पोष्टका सशस्त्र प्रहरी निरीक्षक केशव भट्टराईको कमान्डमा रहेको टोलीले तीव्र गतिमा रहेको पिकअपलाई शंका लागि चेकजाँच गर्ने क्रममा पटका फेला परेको डिएसपी साउदले बताए ।
बरामद पटका प्रहरीले नष्ट गरेको छ, भने पिकअप जिपलाई महेसपुर भन्सार कार्यालयमा बुझाइएको छ । सवारी चालक पाल्हीनन्दन ३ का सुनिल गुप्तालाई प्रहरीले नियन्त्रणमा लिए पनि उनीपछि भाग्न सफल भएका छन् । गुप्ताकै सुराकीको आधारमा महेशपुर बजार क्षेत्रको सम्भावित स्थानमा थप पटका रहेको आशंकामा छापा मार्न गएको प्रहरी टोली र स्थानीयबीच तनावको अवस्था सृजना भएपछि गुप्ता भाग्न सफल भएको प्रहरीले जनाएको छ ।
महेशपुरमा अवैधरुपमा पटका भित्र्याएको सूचनाको आधारमा प्रहरीले छापा मार्ने कोशिस गरे पनि स्थानीय प्रहरीमाथि नै जाइलागेपछि प्रहरी पछाडि हटेको थियो । पछि सशस्त्र र जनपथ प्रहरीको संयुक्त टोलीले थप खानतलासी गरे पनि कुनै समान फेला नपरेको बताइएको छ ।