बाँके –
‘ग्रीन नेपालगन्ज, क्लिन नेपालगन्ज’ अभियानअन्तर्गत आज वडा नम्बर १८ को सडक विभाग अगाडि रोपिएका फूल तथा बोटबिरुवा गोडमेल गरिएको छ । उक्त अभियानका अभियान्ता डा. विनोद कणर्को नेतृत्वमा उक्त फूल तथा बोटबिरुवा गोडमेल गरिएको हो ।
यस अभियानमा डा. कणर्सँगै पूर्ण महतारा, शेखरचन्द्र थापा, सुरेन्द्र श्रेष्ठ, भानुभक्त रेग्मी र नागरिक दैनिकका पत्रकार गणेश विशु सहभागी थिए । ‘ग्रीन नेपालगन्ज, क्लिन नेपालगन्ज’ अभियानअन्तर्गत नेपालगन्ज–सुर्खेत सडकखण्डलगायतका क्षेत्रमा वृक्षारोपन तथा लगाइएका बोटबिरुवा र फूलहरु गोडमेल तथा नेपालगन्ज सहर सरसफाइ गरिँदै आएको छ ।
‘हामी प्रत्येक दिन बिहान केही सिर्जनशील तथा सामाजिक काम गरेर दिनको सुरुवात गर्न खोजिरहेका छौं,’ अभियान्ता डा. कणर्ले भने, ‘यस अभियानबाट नेपालगन्ज सफा र सुन्दर हुने विश्वास छ ।’
अभियानले सुन्दर नेपालगन्ज अभियानलाई सघाउ पुर्याउने र हराभरा नेपालगन्ज हुने अर्का अभियान्ता महताराले जनाए । यस अभियानमा स्थानीयको पनि सहभागिता हुन जरुरी रहेको उनी बताउँछन् । उक्त अभियानअन्तर्गत प्रत्येक दिन बिहान श्रमदान हुँदै आएको छ ।