सुर्खेत –
सामूहिक हत्याको आशंका गरिएको मुगुको घटना अनुसन्धानका लागि कुकुरसहितको प्रहरीको विशेष टोली पुगेको छ । छायाँनाथ रारा नगरपालिका–५ मुन्दु गाउँमा आमा र तीन जना छोराछोरी मृत भेटिएको घटनाको अनुसन्धानका लागि प्रहरीले विशेष टोली खटाएको हो ।
प्रहरीले अनुसन्धानमा सघाँउन नेपालगन्जबाट कुकुर मगाएको हो ।
शनिबार बिहान कुकुरसहितको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । प्रहरीले शुक्रबारदेखि सिल गरेको घटनास्थलमा कर्णाली प्रदेश प्रहरी कार्यालयको विशेष अनुसन्धान टोली र कोहलपुरबाट हिँडेको कुकुरसहितको टोली घटनास्थलमा पुगेको मुगुका प्रहरी प्रमुख डिएसपी वीरेन्द्र थापाले जानकारी दिए ।
शुक्रबार बिहान मुन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज, सात वर्षीया छोरी अप्सरा र एक वर्षीय छोरा रहर घरमै मृत भेटिएका थिए । छायाँनाथ रारा नगरपालिका–६ का वडाध्यक्ष तथा श्रीदेवीका काका नाता पर्ने खेमबहादुर रावलका अनुसार उनीहरूको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको देखिएको छ ।
श्रीदेवीका काका नाता पर्ने छायाँनाथ रारा नगरपालिका–६ का वडाध्यक्ष खेमबहादुर रावलका अनुसार सबैको टाउको र घाँटीमा घाउ छन् ।
श्रीदेवी तीनै जना छोराछोरीलाई लिएर कात्तिक ७ गते दसैंको दिन टीका थाप्न माइती गाउँ कोटिल्ला गएकी थिइन् । उनको गाउँ मुन्दुबाट कोटिल्ला दुई घन्टाको दुरीमा पर्छ । दसैको दिन माइतीबाट टिका थापेर श्रीदेवी र छोराछोरी कोटिल्लामै बसे । भोलिपल्ट माइती घरको बारीको कोदो टिप्न सघाएर ८ गते बेलुका उनी छोराछोरीसहित नै आफ्नो घर मुन्दु फर्किएकी थिइन् ।
स्थानीयले ढोका फोडेर घरभित्र चारैजना मृत देखेपछि प्रहरीलाई खबर गरेका हुन् । दिउँसो १२ बजेपछि मात्र प्रहरी घटनास्थल पुगेको उनले जानकारी दिए ।
श्रीदेवीका श्रीमान दीपक वैदेशिक रोजगारीका लागि कतारमा छन् । यसअघि केही वर्ष विदेशमै बसेर गत वर्ष उनी घर आएका थिए । गत वर्ष मंसिरमै उनी कतार गएका थिए । श्रीमती र छोराछोरीको मृत्युको खबर पाएपछि दीपक कतारबाट फर्किन लागेका छन् । उनको आज रातिको नेपालका लागि टिकट भएको रावलले बताए ।