रिकभरिङले गत वर्ष १२ जनामा संक्रमण पत्ता लगाएको थियो । तर उनीहरुको उपचार भने हुन नसकेको र ती मध्ये केहीको मृत्युसमेत भई सकेको फोकल पर्सन विसीले बताए ।
विक्रम बुढाक्षेत्री – बाँके
केही वर्षअघिसम्म एच.आई.भि. र क्षयरोगको जोखिम उच्च भएका कारण नेपाल सरकारले यी रोगहरु नियन्त्रण गर्न उच्चस्तरीय संयन्त्र बनाउँदै परीक्षण र उपचारलाई निःशुल्क बनायो । अहिले सन् २०३० सम्म एच.आई.भि. र क्षयरोग पूर्णरुपमा नियन्त्रण लिन सरकारले रणनीतिक योजना लागू गरेको छ ।
तर यी रोगहरु जस्तै उच्च जोखिममा रहेको हेपाटाइटिस रोग नियन्त्रण गर्न हालसम्म सरकारले कुनै पनि उच्चस्तरीय योजना बनाएको छैन । बाँकेको कुरा गर्दा जिल्लामा हेपाटाइटिस संक्रमित बिरामीको संख्या कति भन्ने आधिकारिक त के अनुमानित डाटासमेत सकैले तयार पार्न सकेका छैनन् ।
यहासम्मकी हालसम्म बाँकेमा हेपाटाइटिस संक्रमितको डाटा खोज्ने तथा संकलन गर्ने काम कुनै पनि निकायले गरेको नपाइएको रिकभरिङ नेपाल लुम्बिनी प्रदेशका फोकल पर्सन प्रविन विसी बताउँछन् ।
‘हेपाटाइटिसको जोखिम उच्च र खर्चालु हुँदा पनि हालसम्म यसको रोकथामका लागि कसैको पहल सुरु भएको देखिँदैन । बाँकेमा त हालसम्म कसैले पनि यसको सर्वेक्षण गरेको पाइँदैन । त्यसैले पनि बाँकेमा कति संक्रमित छन्, भन्ने एकीन तथ्यांक छैन,’ विसीले भने ।
रिकभरिंङ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष इन्द्रकुमारी जिसीका अनुसार नेपालमा करिब १ लाख ३० हजार हेपाटाइटिसका संक्रमित हुने अनुमान रहेको बताउँछन् । विश्वभरमा वार्षिक ११ लाख मानिसको मृत्यु हेपाटाइटिस संक्रमणका कारण हुने गरेको उनले बताइन् ।
जिसी भन्छिन्,‘हेपाटाइटिसमा पनि ‘सि’ र ‘बि’ भन्ने हुन्छ । जसमा हेपाटाइटिस ‘बि’को जोखिम उच्च रहेको पाइन्छ र यसका कारण नै मानिसहरुको मृत्यु हुने गरेको छ ।’
रिकभरिङ नेपालले यसअघि सन् २०१४ मा १०० जनामा हेपाटाइटिसको परीक्षण गरेको थियो जसमा २२ जना संक्रमित भेटिएका थिए । सोपश्चात रिकभरिङले गत वर्ष १२ जनामा संक्रमण पत्ता लगाएको थियो । तर उनीहरुको उपचार भने हुन नसकेको र ती मध्ये केहीको मृत्युसमेत भई सकेको फोकल पर्सन विसीले बताए ।
विसी भन्छन्,‘हामीले केही संक्रमित पत्ता लगाए पनि त्यसमध्ये केहीको त मृत्युसमेत भई सकेको छ । अब यसमा के छ भने, हेपाटाइटिसको उपचार धेरै नै महंगो छ । जो कोहीले उपचार गर्न पनि सक्दैनन् । त्यसैले पनि संक्रमण देखिएपछि मृत्युको पर्खाइमा बस्ने गरेको पाइएको छ ।’
हेपाटाइटिसको जोखिम र उपचारमा समस्या देखिएपछि रिकभरिङ नेपालले हेपाटाइटिस रोगको उपचार र क्षति न्यूनिकरण गर्न स्थानीय निकायसँग आर्थिक सहयोग अभियान सुरु गरेको छ । जसअन्तर्गत आइतबार रिकभरिङ नेपालले हेपाटाइटिस रोगसँग सम्बन्धित व्यक्तिहरुसँग अन्तरक्रियासमेत गरको छ । उक्त अन्तरक्रियामा बाँके तथा बर्दिया जिल्लामा रहेको पुनस्र्थापना केन्द्र संचालक, विभिन्न संघ–संस्था तथा स्वास्थ्य क्षेत्रका व्यक्तिहरु उपस्थित थिए ।
सो कार्यक्रममा रिकभरिङ नेपाल अध्यक्ष जिसीले हेपाटाइटिस संक्रमित व्यक्तिको उपचारमा न्यूनतम १ लाख ५० हजार रुपैयाँ खर्च हुने भएकाले धेरैजसो संक्रमितले उपचार गर्न नसकेको बताइन् । उनले हेपाटाइटिसको उच्च जोखिममा लागूऔषध कर्ता तथा निम्न वर्ग रहेको बताइन् ।
साथै रिकभरिङ नेपाल लुम्बिनी प्रदेश सचिव यशोदा ज्ञवालीले रिकभरिङ नेपालले हेपाटाइटिस संक्रमितलाई औषधिसमेत गर्न सुरु गरेको बताइन् । उनले योपटक देशभरका ५० जना हेपाटाइटिसका संक्रमितलाई रिकभरिङ नेपालले औषधि गर्न लागेको बताइन् ।
कार्यक्रममा उपस्थिति सहभागीले हेपाटाइटिसको संक्रमणलाई नियन्त्रण गर्न वडास्तरबाटै जानु पर्ने सुझाव दिएका थिए । उनीहरुले वडास्तरबाट जनप्रतिनिधिहरुसँग समन्वय, सहकार्य र बैठकको आयोजना गर्नु पर्ने बताए ।
त्यस्तै सहभागीले हेपाटाइटिसबाट प्रभावित कति छन् र उनीहरुको कुन प्रकारका संक्रमित हुन भन्ने तथ्यांक निकाल्नु पर्ने, स्थानीय तहसँग सहयोग माग्नुभन्दा पहिला ‘रोड म्याप’ तयार पर्नु पर्ने, कुन निकायबाट हेपाटाइटिसको परीक्षण गर्ने एकिन गर्नु पर्ने जस्ता सुझाव दिएका थिए ।