आर्थिक रुपमा अरुको भर परेका र शैक्षिक वञ्चितिकरणमा परेका ७ हजार ५ सय अर्थात १२.५ प्रतिशत महिलाहरु महिला विकास कार्यक्रममा आवद्ध गरिएको हो ।
साबित्री बिश्वकर्मा – बाँके
नेपालगन्ज उप–महानगरपालिकाले पालिकाभरिका १२.५ प्रतिशत लक्षित महिलाहरुलाई महिला विकास कार्यक्रमअन्तर्गत समावेश गरेको छ । २०७८ सालको प्रारम्भिक जनगणना अनुसार ८१ हजार लक्षित महिला संख्यामध्ये ६० हजारलाई महिला विकास कार्यक्रमअन्र्तगत लक्षित गरिएको छ । जसमा विद्यालय नगएका, बिचैमा विद्यालय छाडेका, आर्थिक रुपमा अरुको भर परेका र शैक्षिक वञ्चितिकरणमा परेका ७ हजार ५ सय अर्थात १२.५ प्रतिशत महिलाहरु महिला विकास कार्यक्रममा आवद्ध गरिएको हो ।
समुदायमा छेउ लगाइएका, पछाडि पारिएका तथा विभिन्न हिंसाको जोखिममा रहेका महिलाहरुको समूह गठन गर्ने र गठन गरिएको समूहबाट समिति बनाई सम्पूर्ण सदस्यहरुलाई क्षमता अभिवृद्धि तालिम प्रदान गर्ने, जिविकोपार्जन तालिम प्रदान गर्ने र व्यवसायको लागि अत्यावश्यक सामग्री प्रदान गर्ने कार्य महिला विकास कार्यक्रमअन्र्तगत गरिएको छ ।
हाल नेपालगन्जका १४ वटा वडाहरुमा उक्त कार्यक्रम लागू गरिएको छ । जसमा १, २, ४, ६, ९, १३, १५, १६, १७, १८, १९, २०, २२ र २३ वडाहरु रहेका छन् । हाल उक्त वडाहरुका ३७ टोलहरुमा समिति गठन गरिसकिएको छ भने ५ वडामा सहकारी संस्थासमेत बनाइएको नेपालगन्ज उप–महानगरपालिकाका महिला विकास अधिकृत मञ्जु पाण्डेले बताइन् । उनका अनुसार महिला सहकारी संस्था १५, १६, १९, २० र २२ नम्बर वडाहरुमा स्थापना गरिएको छ ।
लक्षित महिलाहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम संचालन गरी समुदायस्तरका लैंङ्गिक हिंसालगायतको तथ्यांक दस्तावेजीकरणको लागि अभिमुखिकरणसमेत गरिएको पाण्डेले बताइन् । ‘मानव बेचविखन, हिंसा जन्य घटनाहरुको समुदायस्तरमा प्रत्यक्ष सम्बन्ध हुने भएकाले यस्ता घटना न्युनिकरणको लागि समुदायका व्यक्तिलाई स्वयं क्षमतावान बनाउने, आफ्नो सुरक्षा आफंै गर्न सक्ने बनाउने, आर्थिक शसक्तिकरण, जिवनोपयोगी शिक्षामा जोड दिने काम भई रहेको छ,’ उनले बताइन् । डरलाग्दो अवस्थामा रहेको लैङ्गिक हिंसा अन्त्यका लागि अझै धेरै क्रियाकलाप गर्न आवश्यक रहेको उनले बताइन् ।
‘सेवा प्रदायक निकायहरुको बारेमा जनतालाई त्यति राम्रोसँग थाहा थिएन त्यसैले पनि हिंसात्मक घटनाहरु समुदायस्तरमै लुकेर बस्थे तर अहिले लैङ्गिक हिंसाविरुद्ध काम गर्ने सेवा प्रदायक निकायहरुबारे जानकारी पाएको र त्यसैले घटना बाहिर आएकोले तुलनात्मक हिसाबमा पहिलेभन्दा अहिले धेरै हिंसात्मक घटनाहरु देखिएका छन्,’ पाण्डेले भनिन्, ‘महिलाहरुको सचेतनास्तर बढेर, सेवा प्रदायक निकायसँगको पहुँच बढेर पनि हिंसात्मक घटना बाहिर आएका हुन् जस्तो लाग्छ ।’
विभिन्न वडामा गठन गरिएका समूह र समितिमा समसामयिक विषयमा छलफल गरिने, लक्षित समुदायलाई आवश्यक क्षमता अभिवृद्धिको लागि कार्ययोजना बनाई कार्यान्वयन गर्ने, वडा तथा पालिकास्तरका संघ – संस्थाहरुसँग समन्वय गरी विविध कार्यक्रम ल्याई पहुँच बढाउनेलगायतका कार्य गर्ने गरिएको छ । समितिले निगरानी समूह बनाई समुदायमा हिंसात्मक घटना हुनै नदिने र भैहाल्यो भने पनि सुरक्षित रुपमा घटना व्यवस्थापन गर्ने सम्बन्धि काम गरिरहेको महिला विकास अधिकृत पाण्डेले बताइन् ।
एउटा वडामा थोरैमा ६ ओटा महिला विकास समिति भएपश्चात महिला सहकारी संस्था बनाई महिला सशक्तिकरण र आर्थिक सशक्तिकरणको पाटो हेर्र्न काम भई रहेको उनी बताउँछिन् । जिल्लाभित्र विभिन्न गैर सरकारी संघसंस्थाले महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने गरेकोमा सबै मिलेर दिगो बनाउन सकिने उनले बताइन् ।
‘सबै वडाहरुलाई एकैपटक समेटन नसकिएकोमा सबै संघ–संस्थासँग मिलेर काम गर्न सके स्रोत साधन जुटाउन समेत सकिन्छ,’ उनी भन्छिन् । आगामी दिनमा नसमेटिएका वडाहरुलाई पनि समेट्दै आर्थिक, शैक्षिक र बैचारिकरुपमा सशक्त महिला बनाउने योजना रहेको पाण्डेको भनाइ छ ।