बाँके –
बाँकेको कोहलपुरमा बुधबारदेखि सुरु ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप–२०८०’ अन्तर्गत बिहीबार भएको खेलमा गोर्खा ब्वाइज स्पोर्ट क्लब, बुटवलले सुदूरपश्चिम ११ स्पोर्टस् क्लबलाई हराएको छ । सुदूरपश्चिमविरुद्ध गोर्खा ब्वाइजका शक्ति राईले गरेको गोल नै निर्णायक गोल बनेको हो ।
खेलको ४५ औँ मिनेटमा गोर्खाका राईले गोल गरेका थिए । सोसंगै गोर्खाले १–० अन्तरले सुदूरपश्चिमलाई हराएको हो । खेल सुरु भएको पाँच मिनेटमा दुईपटक कर्नर पाएको गोर्खा ब्वाइजले खेल सुरु भएको ४५ औं मिनेटमा जर्सी नम्बर ७ का खेलाडी शक्ति राईले गोल हानेका थिए ।
खेलमा सुदुरपश्चिम ११ लाई गोर्खा ब्वाइजले निकै दबाब दिइरहेको थियो । गोर्खाका जर्सी नम्बर १४ सहदेव केसी खेलको म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसिसहित नेपालका चर्च व्वाइज यूनाइटेड काठमाडौँ, गोर्खा ब्वाइज स्पोर्टस क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टोलीको सहभागिता छ ।
शुक्रबारको खेल चर्च ब्वाइज यूनाइटेड, काठमाडौँ र गोर्खा ब्वाइज स्पोर्टस क्लबबिच दिउँसो ३ः०० बजे प्रतिस्पर्धा हुने आयोजक कोहलपुर रेसिङ्ग सहारा क्लबका सचिव नवकिरण शाहले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेलाई आठ लाख र दोस्रो हुनेलाई चार लाख रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ । प्रतियोगिता कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ ।