धनगढी –
कैलाली जिल्ला अदालतमा आइतबार राति करिब साढे १० बजे अदालतको दक्षिणतर्फ रहेको अभिलेख शाखाको ग्रिल फोडेरभित्र पसेका व्यक्तिहरूले मुद्दाका मिसिलका साथमा रहेका पाँच थान मोवाइल, एक थान कटुवा पेस्तोल र त्यसका चारवटा गोली चोरेर लगेका छन् ।
अदालतको प्रवेशद्धार र परिसरभित्र प्रहरीले सुरक्षा दिने भए पनि प्रहरी नरहेको दक्षिणतर्फको भागबाट भित्र पसेका व्यक्तिहरूले श्रेस्तेदार, मुद्दा दर्ता फाँट, अभिलेख शाखा सबै तिर गएको देखिएको प्रहरीले बताएको छ ।
अदालतभित्र चोरी भएको घटना प्रहरीले बिहानमात्र जानकारी पाएको थियो । त्यही परिसरमा रहेका प्रहरीले समेत राति चोरी भएको थाहा पाएनन् ।
प्रहरीले चोरीमा संलग्न व्यक्तिहरू मुद्दासँगै सम्बन्धित भएको अनुमान गरेको छ । चोरीमा संलग्न व्यक्तिहरुको खोजी कार्य भइरहेको चन्दले बताए ।