बाँके –
युवा संघ नेपालले भूकम्प पीडितका लागि १५ लाख बढीको राहत सामग्री उपलब्ध गराएको छ । युवा संघको केन्द्रीय कार्यालय काठमाडौंले जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई शुक्रबार १५ लाख ५० हजार रुपैयाँको विभिन्न प्रकारका राहत सामग्री हस्तान्तरण गरेको हो ।
युवा संघका केन्द्रीय अध्यक्ष कृष्णकुमार बिश्वकर्मा, कर्णाली प्रदेश कमिटी अध्यक्ष अनिल बोगटी पिपुल्स भोलेण्टियरका सचिब मनोज केसी, बाँके पार्टी सचिब दिपक जिएम, बाँके क्षेत्र नम्बर ३ ‘ख’ का संयोजक ऋषि पोखरेललगायतको टोलीले जाजरकोट पुगेर राहत सामग्री जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गरेको थियो । युवा संघका केन्द्रीय अध्यक्ष बिश्वकर्माका अनुसार युवासंघले ७ प्रकारका सामग्रीहरु हस्तान्तरण गरेको हो ।
हस्तान्तरण गरिएको सामग्रीमा ६ लाख रुपैयाँको २० थान डिजिटल सोलार प्यानल, १ लाख रुपैयाँको २ सय ५२ थान एन्टी मस्क्यूटो किड्स, ३ लाख रुपैयाँको ५ हजार थान सेनिटरी प्याड, १ लाख ५० हजार रुपैयाँको एक थान अक्सिजन कन्सन्ट्रेटर, १ लाख ५० हजार रुपैयाँको एक थान अक्सिमिटिर, २ लाख रुपैयाँ बढीको औषधि र ५० हजार रुपैयाँको एक सय थान भोलेन्टियर हेलमेट रहेको अध्यक्ष बिश्वकर्माले जानकारी दिए ।
त्यस्तै बाँके पार्टी सचिब दिपक जिएमले मंसिरदेखि युवा संघले भूकम्प प्रमाभित क्षेत्रमा सहयोगार्थ स्वायम्सेवक पनि परिचालन गर्ने कार्यक्रम रहेको बताए ।