बाँके –
बाँकेको खजुरामा भोलिदेखि तीन दिने खजुरा गाउँपालिकास्तरीय जुडो प्रतियोगिता तथा प्रथम लुम्बिनी प्रदेशस्तरीय जुडो कोचिङ्ग सेमिनार संचालन हुने भएको छ ।
मंगोलियन जुडो क्लबले खजुरा गाउँपालिकाको सहयोगमा यही चैत्र २७, २८ र २९ गते हुने प्रतियोगिता तथा सेमिनारलाई दुई चरणमा बिभाजन गरिएको छ । नेपालगञ्जमा सोमबार पत्रकार सम्मेलनमार्फत क्लबका अध्यक्ष बिजय गुरुङले पहिलो दिन २७ गते खजुरा गाउँपालिकाका जुडो खेलाडीहरुको सहभागितामा प्रतियोगिता हुने जानकारी दिए ।
पहिलो दिनको बिजयी प्रतियोगिहरुलाई प्रथम, द्धितीय र तृत्तीयलाई पुरस्कार प्रदान गरिनेछ ।
यस्तै दोस्रो चरणमा चैत्र २८ र २९ गते प्रथम लुम्बिनी प्रदेशस्तरीय जुडो कोचिङ्ग सेमिनार हुनेछ । यसमा बाँकेसहित बर्दिया, दाङ, रुपन्देही र प्यूठानबाट खेलाडीहरु सहभागि हुने तय भएको प्रचार प्रसार संयोजक विक्रम बुढाक्षेत्रीले बताए ।
प्रतियोगितामा ६ जना प्रशिक्षकसहित ७५ जना खेलाडीहरु सहभागि हुने छन् । राष्ट्र र स्वास्थ्यका लागि खेलकुद नाराका साथ क्लबले खजुरालाई जुडोको हब बनाउन लागि परेको जनाइएको छ । युवा तथा बालबालिका लागूऔषधको चंगुलमा फसिरहेको अवस्थामा उनीहरुलाई खेलतर्फ आकर्षित गर्ने क्लबको लक्ष्य रहेको समेत अध्यक्ष गुरुङ्गले बताए ।
त्यस्तै पत्रकार सम्मेलनमा जुडो संघ बाँकेका उपाध्यक्ष नकुल खत्रीले खेलाडीहरुको आयआर्जनको स्रोत सुनिश्चित नभएका कारण विदेश पलाएन हुनु पर्ने बाध्यता आएको बताए । उनले खेलप्रति युवाहरुको आकर्षण कम हुँदै गएको र सबै क्षेत्रमा खेलाडीहरुको संख्या घड्दो क्रममा रहेको बताए ।
क्लबले २०६६ सालमा पहिलो पटक खजुरामा हालको लुम्बिनी प्रदेशका जिल्लालाई समेटने गरी प्रथम जुनियर जुडो प्रतियोगिता आयोजना गरेको थियो भने २०७९ सालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई समेटेर दोस्रो जुल्ला जुनियर जुडो प्रतियोगिता संचालन गरेको थियो ।