बाँके –
बाँकेको खजुरा गाउँपालिकाको प्रशासकिय भवनको बुधबार उद्घाटन गरिएको छ । पालिकाका अध्यक्ष डम्बरबहादुर विक (तुफान), उपाध्यक्ष मञ्जु मल्लले बाजाँगाजासहित पूजा आरधना गरेर प्रशासकिय भवनको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष विकले एतिहासिक काम गर्न सफल भएको बताउँदै खजुरावासीलाई पाएक पर्ने स्थानमा प्रशासकिय भवन निर्माण भएको बताए । उनले केही कारण बस भवनको केही काम बाँकी रहँदै उद्घाटन गर्नु परेको बताए ।
उपाध्यक्ष मञ्जु मल्ले सबै खजुरावासीका लागि प्रशासकिय भवनको उद्घाटनले खुसी ल्याएको बताउँदै नयाँ भवनबाट छिटै सेवा संचालन हुने बताइन् ।
भवन उद्घाटनमा वडा अध्यक्ष, पालिकाका राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला निकाय तथा उल्लेखनिय रुपमा स्थानीयको उपस्थिति रहेको थियो ।
भवन निर्माणको काम अझै ३० प्रतिशत बाँकी
खजुराको वडा नम्बर ३ बी गाउँमा रहेको प्रशासकिय भवनको काम हालसम्म ७० प्रतिशतमात्रै सम्पन्न भएको छ । निर्माण कम्पनी एम के÷जुगल जे.भी. तीनकुने काठमाडौंले २०७८ जेठ १४ गते २०७९ मंसिर १५ गतेसम्म निर्र्माण सम्पन्न गर्र्नेगरी कामको जिम्मेवारी लिएको थियो । सो समयाअवधिमा काम सम्पन्न नभएपछि पुनः २०८० असार मसान्तसम्म म्याद गरिएको थियो । सो समयमा पनि निर्माण कम्पनीले काम सम्पन्न गर्न सकेन ।
सोपश्चात म्याथ थप गर्ने नगर्ने प्रक्रिया अघि नबढेको पालिकाका लेखा अधिकृत प्रदिप सुनारले बताए । उनका अनुसार निर्माण कम्पनीले उक्त ठेक्का ५ करोड ३६ लाख ४ हजार ७ सय १५ रुपैयाँमा करसहित लिएको थियो । जसमध्ये हालसम्म ५० प्रतिशत रकम पालिकाले निर्माण कम्पनीलाई भुक्तान गरिसकेको छ ।
अब कार्यपालिकाको बैठक बसेर म्याद थपका विषयमा दुंगो लगाउने पालिकाले जनाएको छ ।
विद्यालयको जग्गामा भवन निर्माण
हाल खजुराको प्र्रशासकिय भवन भएको जग्गा श्री शान्ति नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको जग्गा हो । सो समयमा विद्यार्थीको संख्या अत्यन्तै कम भएका कारण २०७६ सावन १७ गते नेपाल सरकारलाई विद्यालयले जग्गा प्रदान गरेको तत्कालीन प्रध्यानाध्यापक हरिप्रसाद उपाध्यायले बताए ।
उपाध्यायले भने, ‘त्यतिखेर हामीले अभिभावक भेला गराई ३ सय ६० जनाको सयुक्त हस्ताक्षर गराएर गाउँपालिकालाई निवेदन दिएका थियौं । विद्यालयको नाममा रहेको ६ बिघा १० कट्टा १० धुर जमिनमा अहिले गाउँपालिकाको प्रशासकिय भवन निर्माण भएको छ ।’
सो समयमा वडा नम्बर ३ क गाउँमा समेत भवन बनाउने माग गरिएता पनि पालिकाको केन्द्र तथा खजुरावासीलाई पाएक पर्ने स्थानमा भवन बनाउन माग गरिएको तप्तकालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पूर्व कार्यपालिका सदस्य भागिरथ सोनारले बताए ।
‘शिक्षा नियामली अनुसार १ जना शिक्षक बराबर ५० जना विद्यार्थी हुनु पर्ने । तर शिक्षक ६ जना विद्यार्थी भने ६०÷७० जना भएकाले विद्यालय मर्ज हुने कुरा भयो र हामीले जग्गा पालिकालाई दिएका थियौं,’ सोनारले भने ।